मुख्य समाचार

बाजुरामा भुकम्पका कारण एकको मृत्यु, एक घाइते २५ घर पूर्णरुपमा क्षती

नवलपुर टुडे
२०७९ माघ १० | मध्यान्ह ०७:१० बजे

जिल्लाभर भुकम्पका कारण भएको घटनाको एकीन विवरण आउने क्रम जारी छ : प्रहरी नायव उपरीक्षक सुर्य थापा
मानबहादुर बिश्वकर्मा
बाजुरा, माघ १० । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिका बिच्छ्या र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्यूडको भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

जिल्लाका विभिन्न ठाउँमा गरी २५ भन्दा बढी घर आंशिक र पूर्ण रुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मंगलबार दिउँसो गएको भूकम्पका कारण बाजुराको गौमुल गाउँपालिका वडा नम्बर– २ की जमुना रोकायाको मृत्यु भएको छ । जंगलमा घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर उनको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सुर्य थापाले बताए ।

भुकम्पका कारण भेडा चराउन गएका गौमुल गाउँपालिका वडा न– १ का एक जना घाइते भएका छन् । जंगलमा भेडा चराउन गएका बेला माथीबाट भिर फुटेर पहिरो जाँदा ४० देखि ५० सम्म भेडा मरेका र गोठालो गएका रामदल बोहरा घाइते भएको स्थानीय सुवास रोकाले बताएका छन् । स्थानीय रोकायाका अनुसार घाइते रामदलको अहिले स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले बताए ।

यस्तै बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा न– ५ मा दुईवटा छाना भत्किएको र गिठे लुहारको घर भत्किएको खबर प्राप्त भएको छ । मष्टेश्वरी माविको भवन भत्केको गाउँपालिकाले जनाएको छ । सोही गाउँपालिका- ४ का कल्चु सार्की र गोपाल दमाईको घर भत्किएको वडा अध्यक्ष दल रावतले जानकारी दिए ।

जिल्लाभर भुकम्पका कारण भएको क्षतीको एकीन विवरण अझै आउने क्रम जारी रहेको र घटना घटेको ठाउँमा तत्काल प्रहरी टोलीले उद्धारको काम गरी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

कमेन्टहरु