नेपाल सरकारले पाकिस्तानलाई २ करोड बराबरको राहत सामग्री सहयोग गर्ने


काठमाडौं, भदौ २७ । नेपाल सरकारले बाढीको चपेटामा परेको पाकिस्तानलाई २ करोड बराबरको राहत सामग्री सहयोग गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै सरकारले पाकिस्तानलाई राहत सामाग्री सहयोग गर्ने निर्णय गरेको जानकारी दिएको हो ।
‘बाढीबाट प्रभावितहरुको लागि नेपाल सरकारको तर्फबाट सहायतास्वरुप पाकिस्तान सरकारलाई २ करोड रुपैयाँ बराबरको राहत सामग्रीहरु प्रदान गर्ने नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७९/०५/२१ गते निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
सरकारले पाकिस्तानमा बाढीका कारण भएको धनजनको क्षतिप्रति दुःखसमेत व्यक्त गरेको छ । उक्त विपदमा परी मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सरकारले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
























