जुम्लामा कुटपिट गरिएका डाक्टरविरुद्ध नै पक्राउ पुर्जी


कर्णाली, भदौ २२ । जुम्लामा कुटपिट गरिएका डाक्टरविरुद्ध नै पक्राउ पुर्जी जारी गरिएको छ।
जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा. करण साहलाई नियन्त्रणमा लिन अनुमति दिएको हो। जिल्ला प्रहरी कार्यालयले अनुसन्धान अभियोजनका लागि पक्राउ अनुमति मागेअनुसार नै अनुमति दिइएको जिल्ला अदालतका श्रेस्तेदार सरोजराज रेग्मीले बताए।
एशिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका ६ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा. साहले हिंसा गरेको जनाउँदै उनकी आमा आशा हमाल (शाही) ले जुम्ला प्रहरीमा यही भदौ १३ गते जाहेरी दिएकी थिइन्।
छोराको टाका नकाटेको भन्दै पृथकविक्रमका बुवा धनबहादुर शाहीले भदौ २ गते डा. साहलाई कुटपिट गरेका थिए। डा. कुटपिट गरेपछि उनी प्रहरी हिरासतमा छन्।
त्यसको विरोधमा उनका परिवारजनले डाक्टर विरुद्ध नै उजुरी दिएका हुन्। ‘बाल हिंसाको आरोपमा प्रहरीमा डा. साहविरुद्धमा जाहेरी परेको छ र त्यसको अनुसन्धान गर्न प्रहरीले अदालतसँग पक्राउ अनुमति माग्यो,’ श्रेस्तेदार रेग्मीले भने, ‘प्रहरीले त्यसअनुसार अदालतले अनुसन्धान प्रयोजनका लागि फुक्का अनुमति दिएको हो।’
अहिलेको कानुनी व्यवस्थाअनुसार कुनै आरोपितविरुद्धको अनुसन्धान प्रयोजनका लागि प्रहरीले अदालतसँग पक्राउ अनुमति माग्ने प्रावधान रहेको छ। रासस























