मुख्य समाचार

सवारीसाधनमा लेखिएका ‘सायरी र गजल’ हटाउँदै ट्राफिक प्रहरी

नवलपुर टुडे
२०७९ असार २३ | मध्यान्ह १२:०३ बजे

काठमाडौं, असार २३ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनमा लेखिएका अश्लिल गाली तथा कानुन विपरीतका र सामाजमा विकृति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइरूलाई हटाउने वा मेट्न लगाउने अभियान सञ्चालन गरेको छ ।

सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरुले चालकको ध्यान अन्यत्र मोडिएर दुर्घटना हुने गरेको पाइएपछि ट्राफिक प्रहरीले त्यस्ता सायरी र गजल हटाउन अभियान थालेको हो ।

नेपालको कानून विपरीत महिला, बालबालिका, सीमान्तकृत समूदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचार प्रसार गर्न वा लेख्न नपाइने भएकोले यसलाई अभियानकै रुपमा सञ्चालनमा ल्याइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीले सवारी साधनमा लेखिएका त्यस्ता अश्लिल र द्विअर्थी लेखहरूले सामाजिक र मानसिक खलल, हिंसा र विकृति बढाएको तथा सडक सभ्यतामा पनि आँच पुर्‍याएकोले रोक्न लागि परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता बाल नरसिंह राणाले जानकारी दिए ।

त्यसैगरी सवारीको सिसामा स्टिकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि ट्राफिक प्रहरीले चालकहरूलाई सुसूचित गरेको छ । ट्राफिक प्रहरीले चालक आसपास क्याबिनको भागमा सजावटका लागि झल्लरलगायतका सामाग्री तथा म्युजिक सिस्टम क्याबिनमा राख्न पनि निषेध गरेको छ ।

कमेन्टहरु