नागरिकता विधेयक फिर्ता लिने मन्त्रिपरिषद बैठकको निर्णय


काठमाडौं, असार २१ । सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि संसदमा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले बताएका हुन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ मा प्रतिनिधिसभामा उक्त विधेयक दर्ता गरेको थियो । यो विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा छलफलपछि ०७७ असार ९ गते प्रतिनिधि सभामा समितिले प्रतिवेदन पेश गरेका थिए । संसदमा पेश भइसकेको विधेयक मन्त्रिपरिषदले निर्णय गरेर मात्रै फिर्ता लिन सक्ने व्यवस्था रहेको छ ।
ती मन्त्रीका अनुसार नागरिकता विधेयकमा रहेका बिबादित विषय झिकेर संशोधित विधेयक फेरि प्रतिनिधि सभामा पेश गर्ने तयारी छ । प्रतिनिधि सभामा पुगेको समितिको प्रतिवेदनमा नेपाली नागरिकसँग बैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालको अंगीकृत नागरिकता लिन चाहेमा बैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्षसम्म स्थायी बसोबास गरेको हुनुपर्ने प्रावधान राखिएको थियो ।
राज्य व्यवस्था समितिमा छलफलको क्रममा नेपाली कांग्रेसका सांसद र मधेश केन्द्रित दलका सांसदहरूले यो प्रावधानको विरोध गरेका थिए ।























