मुख्य समाचार

सभामुख सापकोटासहितको टोली अजरबैजान प्रस्थान

नवलपुर टुडे
२०७९ असार १४ | मध्यान्ह ०२:०३ बजे

काठमाडौं, असार १४ । सभामुख अग्निप्रसाद सापकोटा अजरबैजान प्रस्थान गरेका छन् । अजरबैजानको राजधानी बाकुमा बिहिबारदेखि शुरु हुने आन्दोलन संसदीय नेटवर्कको सम्मेलनमा सहभागी हुन सापकोटाको नेतृत्वको संसदीय प्रतिनिधिमण्डल आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

अजरबैजानको संसदले आयोजना गरेको उक्त सम्मेलनमा सभामुख सापकोटाले असंलग्न आन्दोलनको आवश्यकता एवं महत्व तथा यो अभियानका पक्ष राष्ट्रहरूका संसदहरूबीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने कार्यसूचि रहेको छ ।

सम्मेलनका क्रममा सभामुख सापकोटाले विभिन्न राष्ट्रका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिमण्डलमा सांसद पुष्पा भुसाल, राष्ट्रिय सभाका सांसद रामचन्द्र राई र सभामुखको स्वकीय सचिव गोविन्द पाठक रहेका छन् ।

सम्मेलन असार १६ गतेदेखि १८ गतेसम्म चल्नेछ । उनीहरु भने १९ गते आइतबार बेलुका नेपाल फर्कने समय तालिका रहेको छ ।

कमेन्टहरु