सरकारका कारण पेट्रोलियम पदार्थको मूल्य बढेको होइन : अर्थमन्त्री शर्मा


काठमाडौँ, असार ६ । अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारका कारण नभई अन्तर्राष्ट्रिय मूल्य श्रृंखलामा आएको समस्याले सिर्जित भएको बताएका छन् । अन्तर्राष्ट्रियस्तरमा भएका युद्धको प्रभावका कारण मूल्य बढेको उनले बताए ।
उनले खाने तेलको मूल्य पनि अन्तर्राष्ट्रिय घटनाहरुको प्रभावकै कारणले बढेको बताए । प्रतिनिधिसभा अन्तर्गतको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले रसियाबाट कच्चा पदार्थ आयात बन्द भएकाले खाने तेलको मूल्य बढेकोप्रति चिन्ता व्यक्त गरे ।
उनले भने, ‘तेलको मूल्य बढ्यो भन्नेछ । यो हामीले बढाएको हो र ? हामी त चिन्तित छौँ, यसले डलर (सञ्चिति) घटिरहेको छ । हाम्रो पैसा बाहिर गइरहेको छ, अन्तर्राष्ट्रिय स्तरमा आएका युद्धहरुको प्रभावका कारण मूल्य बढिरहेको छ । खाने तेलको मूल्यको कुरा पनि त्यही नै हो ।’























