Opens in a new tab

ग्लोबल साउथ एकताको नमुना : चीन–ब्राजिल सम्बन्धलाई ‘उत्कृष्ट’ मान्छन् चिनियाँ नागरिक

एजेन्सी

295Shares

सारांश

  • चीन र ब्राजिलबीचको सम्बन्धलाई ‘ग्लोबल साउथ’ का विकासशील मुलुकहरूबीचको एकता, सहकार्य र रणनीतिक साझेदारीको एक उत्कृष्ट नमुनाका रूपमा हेरिएको छ।
  • व्यापार, कृषि, ऊर्जा, पूर्वाधार र प्रविधि जस्ता क्षेत्रमा दुई देशबीच भएको ५ दशकभन्दा लामो सहकार्य अत्यन्तै प्रभावकारी रहेको सर्वेक्षणले देखाएको छ।
  • भविष्यमा कृषि, व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सांस्कृतिक आदानप्रदानलाई अझ सुदृढ गर्दै लैजानुपर्नेमा चिनियाँ नागरिकको उच्च समर्थन रहेको छ।
dida bag ad

बेइजिङ । चीन र ब्राजिल पूर्वी तथा पश्चिमी गोलार्धका सबैभन्दा ठूला विकासशील मुलुक हुन्। यी दुई देशले जलवायु परिवर्तनको संवेदनशीलता, ‘ग्लोबल साउथ’ का मुलुकको हित संरक्षण र संयुक्त राष्ट्रसंघको भूमिका सुदृढीकरणजस्ता विषयमा समान धारणा राख्दै आएका छन्।

एक सर्वेक्षणअनुसार ७० प्रतिशतभन्दा बढी चिनियाँ नागरिकले चीन र ब्राजिलबीचको सम्बन्धलाई ‘धेरै राम्रो’ वा ‘राम्रो’ भनेका छन्। दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध चीनको भावी विकासका लागि महत्त्वपूर्ण रहेको विश्वास गर्ने चिनियाँ नागरिकको संख्या ९० प्रतिशतभन्दा बढी छ।

  • चीन र ब्राजिलबीचको सम्बन्ध : ‘ग्लोबल साउथ’ एकताको नमुना

चीन र ब्राजिलबीचको सम्बन्धलाई विश्वको दक्षिणी गोलार्धका विकासशील मुलुकबीचको एकता र सहकार्यको नमुनाका रूपमा चिनियाँ नागरिकले हेर्ने गरेको पाइएको छ। सर्वेक्षणमा सहभागी अधिकांश चिनियाँ नागरिकले ब्राजिललाई मित्रराष्ट्र वा रणनीतिक साझेदारका रूपमा लिएका छन्। चीनको सरकारी सञ्चारमाध्यम ‘ग्लोबल टाइम्स इन्स्टिच्युट’ ले गरेको ‘चिनियाँ नागरिकले ब्राजिललाई कसरी हेर्छन् ?’ शीर्षकको सर्वेक्षणअनुसार ६१ प्रतिशत सहभागीले ब्राजिलप्रति स्पष्ट रूपमा सकारात्मक धारणा व्यक्त गरेका छन्। त्यस्तै, ९० प्रतिशतभन्दा बढीले ब्राजिलप्रति सकारात्मक वा तटस्थ धारणा राखेका छन्।

सर्वेक्षणमा ७० प्रतिशतभन्दा बढी सहभागीले चीन र ब्राजिलबीचको सम्बन्धलाई ‘धेरै राम्रो’ वा ‘राम्रो’ भनेका छन्। त्यस्तै, ६६ प्रतिशतले ब्राजिललाई चीनको मित्रराष्ट्र वा रणनीतिक साझेदारका रूपमा व्याख्या गरेका छन्। दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध चीनको भविष्यको विकासका लागि महत्त्वपूर्ण रहेको विश्वास गर्नेको संख्या ९० प्रतिशतभन्दा बढी छ। सन् २०२६ चीन र ब्राजिलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५२औं वर्ष हो। यस वर्षलाई दुवै देशले ‘चीन–ब्राजिल सांस्कृतिक वर्ष’ का रूपमा पनि मनाइरहेका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङले अक्टोबर २७ मा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई पुनर्निर्वाचित भएकोमा बधाई दिएका थिए।

  • फुटबलबाट चिनिन्छ ब्राजिल

सर्वेक्षणमा सहभागी चिनियाँ नागरिकमध्ये ८० प्रतिशतभन्दा बढीले ब्राजिलबारे केही न केही जानकारी रहेको बताएका छन्। त्यसमध्ये ३५ प्रतिशतले आफूलाई ब्राजिलबारे ‘धेरै’ वा ‘राम्रो जानकारी’ भएको उल्लेख गरेका छन्। चिनियाँ नागरिकले ब्राजिल सम्झिँदा सबैभन्दा पहिले फुटबललाई सम्झिने गरेको सर्वेक्षणले देखाएको छ। ७३ प्रतिशत सहभागीले ब्राजिलसँग फुटबललाई जोडेर हेरेका छन्। त्यसपछि ४४ प्रतिशतले कृषि उत्पादन र खाद्यवस्तुलाई ब्राजिलको पहिचानका रूपमा उल्लेख गरेका छन्।

सन् २०२४ मा चीन र ब्राजिलले आफ्नो द्विपक्षीय सम्बन्धलाई अझ उन्नत बनाउँदै न्यायपूर्ण विश्व र दिगो पृथ्वी निर्माणका लागि साझा भविष्य भएको समुदायको अवधारणामा सहमति गरेका थिए। यसले दुई देशबीच राजनीतिक समझदारी र जनस्तरको सम्बन्ध विस्तारका लागि थप आधार तयार गरेको सर्वेक्षणमा उल्लेख छ। चिनियाँ विज्ञका अनुसार चीन र ब्राजिलबीचको सकारात्मक सम्बन्धका तीन प्रमुख आधार छन्। पहिलो, दुई देशबीचको व्यापारिक सम्बन्ध हो। चीन ब्राजिलको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। दोस्रो, ब्राजिलको अन्तर्राष्ट्रिय छवि हो। ‘ग्लोबल साउथ’ को एक महत्त्वपूर्ण मुलुकका रूपमा ब्राजिलले विकासशील देशहरूको हित र सरोकारलाई अन्तर्राष्ट्रिय मञ्चमा निरन्तर उठाउँदै आएको छ। तेस्रो, दुवै देश ब्रिक्सका सदस्य हुन्। ‘ग्लोबल साउथ’ को प्रभाव विस्तार गर्न दुवै मुलुकले संयुक्त रूपमा काम गरिरहेका छन्। यसले पनि दुई देशका नागरिकबीच आपसी समझदारी र आत्मीयता बढाउन सहयोग गरेको छ।

  • व्यापार र पूर्वाधारमा सहकार्य

चीन र ब्राजिलबीचको पाँच दशकभन्दा लामो कूटनीतिक सम्बन्धमा व्यापार, ऊर्जा, पूर्वाधार, प्रविधि र अन्य क्षेत्रमा सहकार्य विस्तार भएको छ। सर्वेक्षणमा सहभागी ९० प्रतिशतभन्दा बढीले दुई देशबीचको सहकार्यका उपलब्धिलाई सकारात्मक रूपमा मूल्यांकन गरेका छन्। त्यसमध्ये ७० प्रतिशतले सहकार्यलाई ‘धेरै प्रभावकारी’ वा ‘प्रभावकारी’ भनेका छन्। चिनियाँ अनुसन्धानकर्ता सोङ जुनयिङका अनुसार चीन–ब्राजिल सहकार्य आर्थिक र व्यापारिक क्षेत्रदेखि नागरिकको दैनिक जीवनसँग जोडिएका विभिन्न क्षेत्रमा फैलिएको छ। ब्राजिलबाट सोयाबिन, कच्चा फलाम, गाईको मासु तथा अन्य कृषि उत्पादन चीनमा निरन्तर निर्यात हुँदै आएका छन्। यसबाट ब्राजिललाई उल्लेख्य व्यापारिक लाभ भएको छ भने ब्राजिलका गुणस्तरीय कृषि उत्पादनले चिनियाँ उपभोक्ताको बढ्दो माग पूरा गर्न सहयोग गरेका छन्।

ऊर्जा क्षेत्रमा पनि दुई देशबीच सहकार्य भएको छ। चीनको ‘स्टेट ग्रिड कर्पोरेसन’ ले आफ्नै प्रविधिमा विकसित ‘अल्ट्रा–हाई भोल्टेज’ (यूएचभी) प्रविधि ब्राजिलका विद्युत् प्रसारण परियोजनामा प्रयोग गरेको छ। यसले ब्राजिलका भित्री भूभागमा रहेका जलविद्युत् केन्द्रबाट दक्षिणपूर्वी तटीय सहरसम्म विद्युत् पुर्‍याउने प्रसारण सञ्जाल निर्माणमा सहयोग गरेको छ। त्यस्तै, ‘चाइना थ्री गर्जेज कर्पोरेसन’ ले पनि ब्राजिलका विभिन्न जलविद्युत् केन्द्र सञ्चालन गरिरहेको छ। चिनियाँ कम्पनीहरूले ब्राजिलमा निर्माण गरिरहेको साल्भाडोर–इटापारिका पुल पूरा भएपछि ल्याटिन अमेरिकाकै सबैभन्दा ठूलो समुद्री पुल बन्ने अपेक्षा गरिएको छ। त्यस्तै, चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी बीवाइडीले ब्राजिलको उत्पादन केन्द्रमा लगानी गरेको छ।

  • कृषि, व्यापार र पर्यटनमा थप सहकार्यको अपेक्षा

चीन र ब्राजिलबीच भविष्यमा सहकार्य विस्तार गर्नुपर्ने क्षेत्रबारे सोधिएको प्रश्नमा ७२ प्रतिशत सहभागीले कृषि उत्पादन र खाद्य आपूर्ति शृंखलालाई प्राथमिकतामा राखेका छन्। त्यस्तै, ७० प्रतिशतले व्यापार तथा लगानी र ६९ प्रतिशतले पर्यटन तथा जनस्तरको आदानप्रदानलाई महत्त्वपूर्ण क्षेत्र मानेका छन्। दुई देशबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तार गर्नुपर्नेमा पनि चिनियाँ नागरिकको ठूलो समर्थन देखिएको छ। सर्वेक्षणमा सहभागी ९७ प्रतिशतले चीन र ब्राजिलबीच सांस्कृतिक तथा जनस्तरको आदानप्रदान थप विस्तार हुनुपर्ने बताएका छन्।

ब्राजिलमा पर्यटनसम्बन्धी सेवा र स्थानीय भुक्तानी प्रणालीलाई चिनियाँ पर्यटकका लागि सहज बनाउनु उनीहरूको प्रमुख अपेक्षा रहेको छ। ६४ प्रतिशतले यसलाई प्राथमिकतामा राखेका छन्। त्यस्तै, ५२ प्रतिशतले खेलकुद आदानप्रदान र ४३ प्रतिशतले युवा अनुसन्धानकर्ता, थिंक ट्यांक तथा विश्वविद्यालयका विद्यार्थीबीच शैक्षिक आदानप्रदान विस्तार गर्नुपर्ने बताएका छन्। सन् २०२६ मा मनाइँदै गरेको चीन–ब्राजिल सांस्कृतिक वर्षका अवसरमा दुवै देशले विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिरहेका छन्। चीनमा आयोजना हुने ब्राजिलका सांस्कृतिक प्रदर्शनी, पर्यटन प्रवर्द्धन कार्यक्रम र चलचित्र महोत्सवमा सहभागी हुन पनि चिनियाँ नागरिकले रुचि देखाएका छन्। ७० प्रतिशतभन्दा बढीले प्रत्यक्ष सांस्कृतिक अनुभव र पर्यटन प्रवर्द्धन कार्यक्रममा सहभागी हुन चाहेको बताएका छन्।

  • ब्राजिल घुम्न चाहने ९० प्रतिशत चिनियाँ

मे ११ देखि डिसेम्बर ३१ सम्म ब्राजिलले सामान्य राहदानी भएका चिनियाँ नागरिकलाई भिसाविना प्रवेश गर्न दिने नीति लागू गरेको छ। सर्वेक्षणमा सहभागी ९० प्रतिशत चिनियाँले अवसर मिलेमा पर्यटन, अध्ययन वा व्यवसायका लागि ब्राजिल जान चाहेको बताएका छन्। उनीहरूमध्ये सबैभन्दा बढीको रुचि पर्यटनमा देखिएको छ भने त्यसपछि रोजगारी र व्यवसायमा छ। चिनियाँ भाषामा सेवा उपलब्ध गराउने र भुक्तानी प्रणालीलाई सहज बनाउने हो भने ब्राजिल भ्रमण गर्ने आफ्नो इच्छा अझ बढ्ने ८० प्रतिशतभन्दा बढी सहभागीको भनाइ छ।

त्यस्तै, ब्राजिलका नागरिकलाई पनि चीन भ्रमणका लागि प्रोत्साहित गर्नुपर्ने पक्षमा करिब ८० प्रतिशत चिनियाँ नागरिकले समर्थन गरेका छन्। उनीहरूले ब्राजिलका नागरिकलाई पर्यटन, अध्ययन तथा व्यवसायका लागि चीन आउन स्वागत गर्नुपर्ने बताएका छन्। दुई देशबीच जनस्तरको सम्बन्ध विस्तार गर्न विद्यमान सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने र यात्रा तथा आदानप्रदानका क्रममा देखिने अवरोध एवं खर्च घटाउनुपर्ने विज्ञको सुझाव छ। दुई देशबीच थप हवाई उडान सञ्चालन गर्न र आकर्षक पर्यटन प्याकेज विकास गर्न सके आपसी भ्रमण सहज, सुलभ र किफायती हुने उनीहरूको निष्कर्ष छ।

  • अन्तर्राष्ट्रिय राजनीतिमा ब्राजिलको प्रभावलाई महत्त्वपूर्ण मान्यता

सर्वेक्षणमा सहभागी करिब ९० प्रतिशत चिनियाँ नागरिकले ब्राजिलको कम्तीमा एउटा अन्तर्राष्ट्रिय भूमिका वा सदस्यताबारे सही जानकारी दिएका छन्। ब्राजिल ब्रिक्सको सदस्य रहेको तथ्य सबैभन्दा बढी चिनियाँ नागरिकलाई थाहा छ। त्यसपछि जी–२० को सदस्यताबारे जानकारी राख्नेको संख्या धेरै छ। ब्राजिल ‘ग्लोबल साउथ’ को एउटा महत्त्वपूर्ण मुलुक, संयुक्त राष्ट्रसंघको संस्थापक सदस्य तथा ल्याटिन अमेरिकी र क्यारिबियन राज्यहरूको समूह (सेलाक) को प्रमुख संस्थापक सदस्य रहेकोबारे पनि चिनियाँ नागरिकमा जानकारी रहेको सर्वेक्षणले देखाएको छ।

त्यस्तै, ६३ प्रतिशतले ल्याटिन अमेरिकाको क्षेत्रीय मामिलामा ब्राजिलको प्रभाव ‘धेरै महत्त्वपूर्ण’ वा ‘महत्त्वपूर्ण’ रहेको बताएका छन्। जलवायु परिवर्तनको सामना र पारिस्थितिक प्रणालीको संरक्षणजस्ता अन्तर्राष्ट्रिय मुद्दामा ब्राजिलको भूमिका महत्त्वपूर्ण रहेको ठान्ने चिनियाँ नागरिकको संख्या ८६ प्रतिशत छ। लुलाको पुनर्निर्वाचनले ल्याटिन अमेरिकी मुलुकबीच एकता र सहकार्यलाई प्रोत्साहन गर्ने तथा विश्व राजनीतिमा उक्त क्षेत्रको सामूहिक प्रभाव बढाउन सहयोग गर्ने अपेक्षा सोङ जुनयिङलगायतका चिनियाँ विज्ञको रहेको छ।

चीन र ब्राजिल दुवै ब्रिक्स र जी–२० का सदस्य हुन्। आगामी चार वर्षमा पनि दुवै देशले साझा भविष्य भएको समुदाय निर्माणलाई निरन्तरता दिँदै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा सहकार्य र संवादलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। ‘ग्लोबल टाइम्स इन्स्टिच्युट’ को यो सर्वेक्षण सन् २०२६ अगस्ट ६ देखि २० सम्म चीनका ३१ प्रान्तस्तरीय क्षेत्रका १८ देखि ६९ वर्ष उमेर समूहका नागरिकबीच गरिएको थियो। यसमा कुल दुई हजार एक सय २४ वटा वैध प्रश्नावली संकलन गरिएको थियो।

अरुपनि पढ्नुहोस

सबै