Opens in a new tab

जुम्लामा लोपोन्मुख बन्दै परम्परागत पानीघट्ट

रासस

325Shares

सारांश

  • जुम्लामा विद्युतीय मिलहरूको प्रयोग बढेसँगै परम्परागत पानीघट्टहरू लोप हुने अवस्थामा पुगेका छन्।
  • गाउँघरमा सडक, बिजुली र आधुनिक प्रविधिको पहुँच विस्तार भएपछि पानीघट्टको प्रयोग क्रमशः घट्दै गएको हो।
  • पानीघट्ट हराउँदै जाँदा यससँग सम्बन्धित परम्परागत ज्ञान र बनावटको सीप पनि नयाँ पुस्ताबाट टाढिँदै गएको छ।
dida bag ad

जुम्ला । जुम्लामा पछिल्लो समय परम्परागत पानीघट्टहरू लोप हुँदै गएका छन्। गाउँघरमा विद्युत्बाट सञ्चालन हुने मिल आएसँगै पानीबाट चल्ने घट्टहरू सङ्कटमा परेको पातारासी गाउँपालिका–१ का स्थानीय गोविन्द बुढाले बताएका छन्।

ग्रामीण क्षेत्रका खोलाको पानीबाट चल्ने घट्टहरूमा स्थानीयवासीले मकै, गहुँ, जौ, कोदो र फापरलगायतका अन्न पिस्ने गर्दछन्। समयअनुसार आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि ग्रामीण क्षेत्रका पानीघट्ट लोप हुँदै गइरहेको बुढाले जानकारी दिए।

गाउँमा आधुनिक मिल र बिजुली नपुगेका बेला पानीघट्ट अन्न पिस्ने साधन मात्र नभई गाउँको आत्मनिर्भर जीवनको महत्वपूर्ण आधारसमेत रहेको थियो। गाउँमा बिजुली, सडक र आधुनिक प्रविधिको पहुँच बढ्दै गएपछि पानीघट्टको प्रयोग क्रमशः घट्दै गएको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए।

हाल प्रयोगविहीन रहेका पानीघट्टलाई कतिपयले सुधार गरी आधुनिक प्रविधिअनुसार पिसानी, तेल र काठ चिरानीसमेत गर्न सक्ने घट्ट बनाएर सञ्चालनमा ल्याएसँगै पुराना पानीघट्ट लोप हुने अवस्थामा पुगेको अध्यक्ष धितालको भनाइ छ।

कुनै समय जुम्लाका गाउँमा प्रचलनमा रहेका पानीघट्ट अहिले कतिपय ठाउँमा देख्नै मुस्किल हुन थालेका छन्। पानीघट्ट हराउँदै जाँदा त्यसको प्रयोग, बनावट र सञ्चालनको परम्परागत ज्ञानसमेत नयाँ पुस्ताबाट टाढिँदै गएको अध्यक्ष धितालले बताए।