दीपावली र छठ: माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय

रासस

सारांश
- मधेसमा दसैँपछि सुरु हुने दीपावली र छठ पर्वलाई लक्षित गरेर स्थानीय बासिन्दाले घर लिपपोत र रङरोगनका लागि विभिन्न रङका माटो सङ्कलन गरी बिक्री गर्ने गरेका छन्।
- मुसहर समुदायका श्रमिक महिलाहरू खोला किनार, पोखरी र चुरे क्षेत्रबाट कमेरे, पहेँलो तथा राटो माटो सङ्कलन गरी बिक्री गरेर पर्व खर्च जोहो गर्ने गर्छन्।
- पक्की घर बन्ने क्रम बढेसँगै माटो सङ्ग्रह गर्ने परम्परा हराउने चिन्ता बढे पनि यो पेसा गरिब परिवारका लागि चाडबाडको खर्च जुटाउने गतिलो माध्यम बनेको छ।

महोत्तरी । भर्खरै दसैँ सकेका मधेसका बस्तीमा दीपावली र छठ पर्वको चहलपहल सुरु भएको छ । मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा यी पर्व मन फुकाएर मनाउने गरिन्छ । यी पर्वले मधेसका बस्ती चलायमान हुन्छन् । दीपावली र छठ पर्वको गर्जो टार्न स्थानीयवासीले माटो सङ्कलन गरेर बिक्री गर्ने गरेका छन् ।
मिथिला क्षेत्रमा दीपावली र छठ पर्वअघि घर विभिन्न रङ पोतेर चिटिक्क पार्ने स्थापित परम्परा छ । यसै परम्पराभित्र गरिब बस्तीका श्रमिकका लागि केही आर्जनको अवसर पनि छ ।
“पर्व त अब मुखमै छ, अलिअलि दशहरामा कमाइयो, अब दिवाली (दीपावली) र छठ अघि माटोको माग छ”, भङ्गाहा–३ सकरी बस्तीकी पुर्नी सदा भन्छिन्, “यही माटोको कमाइले आफ्नो पर्व टार्नु छ ।” यी पर्वमा माटो बेचेर घरखर्च टार्ने र थप केही नगद बचत हुने गरेको उनी बताउँछिन् । दसैँदेखि तिहार र छठसम्म बस्तीमा माटो खोज्न निस्कने वर्षौंदेखिको प्रचलन छ ।
औरही–८ टिम्कियाको मुसहरीटोलकी शनिचरी सदाले दसैँदेखि छठसम्म माटो बेचेकै रकमले यी पर्व टार्ने गरिएको बताइन् । यस्तै भङ्गाहा–४ रामनगरको दलित बस्तीकी हेमनी सदाले पछिल्ला १० वर्षयता बर्सेनि विभिन्न रङ्का माटो सङ्ग्रह गरेर राम्रो आम्दानी गरेकी छन् ।
बढी माग हुने कमेरे र पहेँलो माटो बस्ती नजिककै पोखरी र खोला किनारबाट ल्याउने गरिए पनि रातो माटो लिन १५/१६ किलोमिटर दूरीको बर्दिबासको रातोमाटो थुम्कामा पुग्नुपर्ने उनले बताइन् । “दुःख त छ, तर दुःख गरेअनुसार दुईचार पैसा थैलीमा पर्छ”, हेमनी भन्छिन्, “यही कमाइले छोराछोरीको रहर र पर्वको खर्च जुट्छ ।” यी पर्वमा माटोबाहेक घर लिपपोतबाट पनि राम्रै पारिश्रमिक पाइने गरिएको उनको भनाइ छ ।
जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहितका १५ वटै स्थानीयतहका लगभग सबैजसो बस्तीमा मुसहर समुदायको धेरथोर बसोबास छ । यी बस्तीका युवायुवती माटो ओसार्न लाग्छन् । यो आर्जनको अवसर भएको गौशाला–४ रजखोरकी बुधनी सदा बताउँछिन् ।
मधेसमा दशहरा, दीपावली र छठ पर्वका बेला घर लिपपोत र रङरोगनका लागि रातो, कमेरे, पहेँलो र धुस्रो कालो माटो प्रयोग गर्ने चलन छ । यताका अधिकांश घर बाँसको चोयाका भित्ताका हुने हुँदा यिनको लिपपोत र रङरोगनमा माटोको प्रयोग हुने गरेको हो ।
मिथिलाको स्थापित यो चलनले गरिब बस्तीका श्रमिकका लागि माटो सङ्ग्रह आर्जनको अवसर हुने गरेको छ । नियमित खेतीपाती र मजदुरीभन्दा फरक समयको काम हुनाले यसबाट आर्जन हुने रकमलाई दलित बस्तीका श्रमिक थप कमाइ ठान्छन् । यी पर्वका बेला आफ्ना बस्तीका श्रमिकले माटो बेचेरै पर्व खर्च जोहो गर्ने गरेका गौशाला–१ रामनगरकी ममता महतोको भनाइ छ ।
आमरुपमा किसानको खेतपातीमा श्रम गरेर गुजारा चलाउने श्रमिक पर्व विशेषमा थप नगद आर्जनका लागि माटोको खोजीमा निस्कन्छन् । सदा थरका अधिकांश मुसहरसँग पर्वका लागि पहिले जोहो गर्ने आर्थिक हैसियत नहुँदा उनीहरूका लागि चाडबाड विशेषका काम आर्जनको खास अवसर बन्ने गरेको छ ।
अहिले फरकफरक रङका माटोको खोजी गर्ने समूहको गन्तव्य नदीले दह बनाएका ठाउँको डिल, पुराना पोखरी र चुरे पहाड क्षेत्रका रातो माटोका थुम्का भएका छन् । अहिले गरेको मेहनतले आफ्नो घर पोत्नसँगै पर्वमा घर खर्चको जोहो हुने गरेको स्थानीय महिलाको भनाइ छ । दिनदिनै पक्की घर बन्ने क्रम बढ्दै गएपछि केही वर्षपछि माटो सङ्ग्रहको चलन हराउन सक्ने यी बस्तीका मानिसको चिन्ता छ ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















