म्याग्दीमा मनसुनजन्य विपद्बाट करिब ८ सय घरपरिवार प्रभावित

नवलपुर टुडे

सारांश
- म्याग्दीमा यस वर्षको मनसुनजन्य विपद्बाट २४३ घर पूर्ण र १८४ घरमा आंशिक क्षति हुनुका साथै ३६२ घर जोखिममा पर्दा करिब आठ सय घरपरिवार प्रभावित भएका छन्।
- विपद्का कारण विभिन्न स्थानमा मानवीय क्षति र बेपत्ता हुनुका साथै मुख्य सडक, खानेपानी, सिँचाइ, जलविद्युत् आयोजना र १३ वटा विद्यालयमा समेत ठूलो क्षति पुगेको छ।
- सरकारले जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरी राहत र अस्थायी बसोबाससँगै आगामी २०८३ जेठभित्र निजी आवास पुनर्निर्माण सक्ने गरी कार्ययोजना अघि बढाएको छ।

म्याग्दी । म्याग्दीमा यस वर्षको मनसुनजन्य विपद्बाट करिब आठ सय घरपरिवार प्रभावित भएका छन् । ७८९ घरपरिवार पूर्ण, आंशिक क्षति भएका र जोखिममा परेर प्रभावित भएका विवरण सङ्कलन भएको हो ।
जनप्रतिनिधि, प्राविधिक र प्रहरीको टोलीले क्षतिको तथ्याङ्क सङ्कलन गरी मुचुल्का तयार पारेका छन् । विपद्बाट अन्नपूर्णमा पाँच र मालिकामा दुई जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए । बेनी नगरपालिका र अन्नपूर्णमा एक/एक जना बेपत्ता छन् । गत साउनमा बेनी नगरपालिका–३ भकिम्लीमा एक जनाको मृत्यु भएको थियो ।
म्याग्दीका प्रमुख बेनी–जोमसोम, बेनी–दरवाङ, बेनी–बागलुङलगायत सडक, खानेपानी, सिँचाइ, विद्युतीकरण, जलविद्युत् आयोजना, प्रसारण लाइन, नदी नियन्त्रण योजनामा ठूलो क्षति पुगेको छ । कालीगण्डकी र म्याग्दी नदीमा आएको बाढीका कारण तटीय क्षेत्रमा कटान तथा बाढीको जोखिम बढेको छ ।
क्षतिको विवरण सङ्कलन पूरा हुँदासम्म सङ्ख्या थपिन सक्ने प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश गैरेले म्याग्दी उद्धार र राहतपछि अस्थायी बसोबासको व्यवस्थासँगै पुनर्निर्माणको चरणमा अघि बढेको जानकारी दिए ।
“मृतक र घरबास गुमाएकाहरुलाई उद्धार र राहत उपलब्ध गराई अस्थायी बसोबासको व्यवस्था मिलाउनेसँगै निजी आवास पुनर्निर्माणलाई तीव्रता दिन र व्यवस्थित बनाउन कार्ययोजना बनाएका छाैँ,” उनले भने, “निजी आवास पुनर्निर्माणको काम आगामी २०८३ जेठ दोस्रो हप्ताभित्र सक्ने गरी कार्ययोजना तयार भएको छ ।”
समयतालिका निर्धारण गरेर तयार पारिएको १२ बुँदे कार्ययोजना कार्यान्वयनका लागि स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिको स्पष्ट जिम्मेवारी तोकिएको छ । हिमाली जिल्ला म्याग्दीका विपद् प्रभावितले निजी आवास पुनर्निर्माणका लागि रु पाँच लाख अनुदान पाउने कार्यविधि छ ।
सरकारले असोज २१ गते म्याग्दीका बेनी नगरपालिका, अन्नपूर्ण, रघुगङ्गा, मालिका, मङ्गला र धवलागिरि गाउँपालिकालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । विपद् प्रतिकार्यका आकस्मिक काम गर्नका लागि पहिलो चरणमा सङ्घीय सरकारले रु ४०/४० लाख अनुदान पठाएको छ ।
विपद्बाट क्षति पुगेका सार्वजनिक भौतिक संरचनाहरुको पुनर्निर्माणका लागि भने स्थानीय तहको माग र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत बजेट उपलब्ध गराइने म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रहनुभएका विज्ञान, प्रविधी तथा नवप्रर्वतन मन्त्री महावीर पुनले बताए ।

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु
अरुपनि पढ्नुहोस
सबै
स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की

सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना
















