दीपावली र छठको सङ्घारमा सजिए जनकपुरधामका पोखरी, बजारमा बढ्यो चहलपहल

नवलपुर टुडे

सारांश
- दिपावली र छठ पर्व नजिकिएसँगै जनकपुरधामका गङ्गासागर, धनुषसागर र रत्नसागरसहितका ऐतिहासिक पोखरी तथा जलाशयहरूको सरसफाइ तीब्र पारिएको छ।
- छठ पर्वमा प्रयोग हुने बाँसका सामग्री र माटाका दियो तथा भाँडाकुँडा खरिद गर्न बजारमा ग्राहकहरूको चहलपहल बढेको छ।
- बाँसका पूजासामग्रीको माग उच्च भएपछि पुर्ख्यौली पेसामा आबद्ध डोम समुदायका कारिगर तथा व्यवसायीहरूलाई राम्रो आम्दानीको अवसर मिलेको छ।

धनुषा । दीपावली तथा छठ पर्व नजिकिएसँगै जनकपुरधामका बजार क्षेत्र र पोखरी तथा तलाउको सरसफाइ थालिएको छ।
मिथिलाञ्चलको धार्मिक, सांस्कृतिक र सामाजिक पहिचानसँग जोडिएको छठ पर्वलाई व्यवस्थित र भव्य रूपमा मनाउने तयारीस्वरूप विभिन्न पोखरी तथा जलाशय सफा गर्न सुरु गरिएको हो।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहका अनुसार गङ्गासागर, धनुषसागर, रत्नसागर र दशरथ तलाउलगायत पोखरी तथा तलाउको सरसफाइ भइरहेको छ। विशेषगरी गङ्गासागर, धनुषसागर र अरगज्जासरलगायत जलाशयमा छठ मनाउने परम्परा रहेकाले स्थानीयवासीको सहयोगमा सरसफाइलाई तीव्रता दिइएको उनले बताए।
पर्व नजिकिएसँगै जनकपुरधामका पेठिया बजार, गाउँघरका हाट तथा मेलामा पूजाका लागि आवश्यक बाँसबाट निर्मित सामग्री खरिद गर्ने ग्राहकको चहलपहल बढेको छ। दीपावलीमा प्रयोग हुने माटाका सामग्री तथा छठ पूजामा प्रयोग हुने छिट्टी, डाला, नाङ्लो, सुप, कोनिया र डगरीजस्ता बाँसका सामग्रीको माग उच्च छ। सूर्यदेवलाई अर्घ्य अर्पण गर्दा फलफूल तथा प्रसाद राख्न बाँस निर्मित सामग्री प्रयोग गर्ने परम्परा छ। पर्व नजिकिएसँगै माटाका भाँडा, दियो तथा अन्य पूजासामग्रीको बिक्री बढेको पेठिया बजारका व्यापारी सन्तोष साहले बताए।
छठ पर्वको अन्तिम समयमा हुने भीडभाडबाट बच्न श्रद्धालुहरूले तिहारअघि नै सामग्री खरिद गर्न थालेको जनकपुरधाम उपमहानगरपालिका–४ निवासी सुमित्रादेवी कर्णले बताइन्।
बाँसका सामग्रीको माग बढेसँगै पुस्तौँदेखि यस्ता सामग्री निर्माण गर्दै आएका डोम समुदायका कारिगर तथा व्यवसायीलाई आम्दानीको अवसर सिर्जना भएको छ। यस समुदायका धेरै परिवारले पुर्ख्यौली पेसाका रूपमा बाँसका चोया र कप्टेराबाट पूजासामग्री निर्माण गर्दै आएका छन्। यसले एकातिर मिथिलाको मौलिक संस्कृति र परम्पराको संरक्षणमा सहयोग पुर्याएको छ भने अर्कातिर परम्परागत पेसामा आबद्ध समुदायको जीविकोपार्जनमा टेवा पुगेको छ।


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना
अरुपनि पढ्नुहोस
सबै
चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

झापाको सानो माईखोलाको बगरमा बदाम खेती

कर्णालीको गौरव: धमाधम निर्माण हुँदै प्रशासनिक भवन
















