Opens in a new tab

कांग्रेस कोसी प्रदेशको सभापतिमा ६ जना आकांक्षी

नवलपुर टुडे

2.7KShares

सारांश

  • नेपाली कांग्रेस कोसी प्रदेश सभापति पदका लागि उद्धव थापा, हिमाल कार्की, डिगबहादुर लिम्बूलगायत ६ जना नेताहरू आकांक्षी देखिएका छन्।
  • केन्द्रीय कार्यसमितिले अझै प्रदेश अधिवेशनको मिति नतोके पनि आकांक्षी नेताहरूले आन्तरिक भेटघाट र तयारी तीव्र बनाएका छन्।
  • कांग्रेसले पहिलो प्राथमिकता सर्वसम्मतिमा नेतृत्व चयन गर्ने नीति लिएको छ भने सहमति नभए मात्र निर्वाचन प्रक्रियामा जाने तयारी गरेको छ।
dida bag ad

काठमाडौं । नेपाली कांग्रेस कोसी प्रदेश सभापतिका लागि ६ जना आकांक्षी देखिएका छन् । कांग्रेस कोसी प्रदेश सभापति उद्धव थापासहित ६ नेताले हालसम्म सभापति पदमा आकांक्षा देखाएका हुन् ।

तर, केन्द्रीय कार्यसमितिले प्रदेश अधिवेशनको मिति तोक्न बाँकी रहेकाले निर्वाचनको माहोल तयार भइसकेको छैन । नेताहरू भने आन्तरिक तयारीमा जुटेका छन् । कांग्रेस उदयपुरका जिल्ला सभापति हिमाल कार्कीले आफू प्रदेश सभापति पदको आकांक्षी रहेको बताए । यद्यपि, कोसी प्रदेशमा कुनै पनि उमेदवारले औपचारिक रूपमा आकांक्षा व्यक्त नगरेको उनले बाह्रखरीलाई बताए ।

उनले भने, “प्रदेश सभापतिका लागि आकांक्षी देखिनुभएको छ । म पनि प्रदेश सभापति पदको आकांक्षी हुँ । अन्य साथीहरू पनि हुनुहुन्छ । औपचारिक घोषणा गरेका छैनौँ । साथीहरूबीच छलफल हुन्छ ।” कोसी प्रदेश सभापति थापा, प्रदेश उपसभापति रमेश रायमाझी, उदयपुर जिल्ला सभापति कार्की, मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू, धनकुटा जिल्ला सभापति दिनेश राई र खड्ग फागू लगायतका नेताले प्रदेश सभापति पदमा आकांक्षा देखाएका छन् । उनीहरूले प्रतिनिधिहरूलाई फोन गर्ने, भेटघाट गर्ने लगायतका गतिविधि बढाएका छन् ।

नेपाली कांग्रेस इलामका जिल्ला सभापति समेत रहेका केन्द्रीय सदस्य डम्बरबहादुर खड्काले नेताहरूले प्रदेश सभापतिसहित विभिन्न पदमा आकांक्षा देखाउन थालेको बताए । जिल्ला तथा प्रदेश कार्यसमितिको अधिवेशनका लागि नेताहरू तयारीमा रहेको उनले जानकारी दिए । इलाममा भने सर्वसम्मतिमा जिल्ला कार्यसमिति चयन गर्ने योजना रहेको उनले सुनाए ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रम कात्तिक १२ गतेका लागि तय गरिएको छ । शपथग्रहणपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकले जिल्ला तथा प्रदेश अधिवेशनको मिति तोक्नेछ । नेपाली कांग्रेसले कार्यसमितिहरू सर्वसम्मतिमा चयन गर्ने नीति लिएको छ । सहमतिको वातावरण बन्न नसकेमा मात्र निर्वाचनमा जाने कांग्रेसको योजना छ ।