दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

नवलपुर टुडे

काठमाडौँ । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेशिने क्रम जारी छ । दसैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य निर्माण र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौँ नेपाली युवायुवती विदेश प्रस्थान गरिरहेका छन् ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि विदेश जाने यात्रुको भिडभाड त्यत्तिकै देखिन्छ । विमानस्थल हुँदै विभिन्न देशका लागि प्रस्थान गर्ने नेपालीमध्ये अधिकांश रोजगारीको खोजीमा विदेश जाने युवायुवती देखिन्छन् । यसका साथै उच्च शिक्षा हासिल गर्न, परिवारका सदस्यलाई भेट्न तथा अन्य व्यक्तिगत कामका लागि विदेश जाने नेपाली पनि विमानस्थलमा देखिएका छन् ।
चाडपर्वका बेला परिवारसँग बसेर खुसी साटासाट गर्ने, आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने र मान्यजनबाट आशीर्वाद लिने नेपाली परम्परा छ । तर, केही वर्षदेखि रोजगारी, आर्थिक अवसर र सुनौलो भविष्यको खोजीमा विदेशिने युवाको संख्या बढ्दो छ ।
अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने युवाको भिडले नेपाली समाजको बदलिँदो आर्थिक तथा सामाजिक अवस्थालाई चित्रण गर्छ । आफ्नै गाउँघर तथा सहरबजारमा अध्ययन र पेसा–व्यवसाय गर्न छाडेर विदेशतर्फ आकर्षित हुने आमप्रवृत्तिका कारण गाउँघर रित्तिँदै गएका छन् भने खेतबारी बाँझिने अवस्था छ ।
यसैबीच, रोजगारीका लागि विदेशिन लागेका सिरहाका लखनकुमार यादवले नेपालमा पर्याप्त रोजगारीका अवसर नहुँदा विदेश जान बाध्य भएको बताए । उनले भने, ‘योग्यता र क्षमताअनुसारको काम स्वदेशमै पाउने सुनिश्चित भइदिएको भए दसैँको बीचमा परिवार छाडेर विदेश जाने मन थिएन । आफूसहित परिवारको भविष्यका लागि विदेश जाँदै छु ।’
शिक्षा, स्वास्थ्यसहित परिवारको दैनिकी चलाउने, आर्थिक अवस्था सुधार्ने र भविष्यका लागि केही बचत गर्ने उद्देश्यले नेपाली युवा विदेशिने गरेको उनकाे भनाइ छ ।
विमानस्थलमै भेटिएका गुल्मीका प्रकाश खत्रीले स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना नहुँदा युवा पुस्ताले आफ्नो भविष्य निर्माणका लागि विदेश रोज्ने गरेको बताए ।
‘नेपालमा रोजगारीको अवसर नभएको, भए पनि सेवासुविधा न्यून रहेको र एकाधबाहेक विदेश जानेहरूको आर्थिक, शैक्षिक तथा सामाजिक हैसियत राम्रो देखिएकाले चाडपर्वमा रमाउनुभन्दा पनि सुनौलो भविष्यका लागि विदेशलाई नै रोज्नुपर्ने अवस्था छ,’ उनले भने ।
यसैगरी, छोरालाई विदेश पठाउन विमानस्थल आएका कैलालीका ठक्कर कलेलले वैदेशिक रोजगारीले परिवारको आर्थिक अवस्था सुधार्न तथा जीवनस्तर उकास्न सहयोग पुर्याए पनि देशभित्रको सक्रिय जनशक्ति यसरी विदेशिँदा मुलुकमा दीर्घकालीन चुनौती उत्पन्न हुन सक्ने बताए ।

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट

हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान
अरुपनि पढ्नुहोस
सबै
बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ

दशै भेटघाटले आपसी सद्भाव, आत्मीयतालाई प्रगाढ बनायो

एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान

कंगोमा नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल थापाको नेतृत्वमा महिला शान्ति सैनिकको सक्रिय भूमिका
















