Opens in a new tab

मिथिलामा विजया दशमीको उल्लास, महोत्तरीमा मनाइयो रावणवध लीला

नवलपुर टुडे

299Shares

सारांश

  • महोत्तरीको मटिहानी र जलेश्वरलगायत मिथिला क्षेत्रमा विजया दशमीको अवसरमा रावणवध उत्सव धूमधामका साथ सम्पन्न भएको छ।
  • त्रेता युगमा श्रीरामले माता सीताकी अपहरणकारी रावणको वध गरेको विश्वासमा मटिहानीको तस्मैयाबाबा उद्यानमा ५१ फिट अग्लो रावणको पुतला दहन गरिएको छ।
  • मटिहानीमा रावणवध पश्चात् भोलिपल्ट बाजागाजासहित रावणको आकृतिलाई जलाशयमा विसर्जन गर्ने परम्परा रहेको छ।

महोत्तर । शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने रावणवध उत्सव मटिहानीसहित महोत्तरीका कैयौं ठाउँमा आज साँझ सम्पन्न भएको छ।

त्रेता युगमा असोज शुक्ल दशमीका दिन मर्यादा पुरुषोत्तम श्रीरामले युद्धमा रावणको वध गरेको विश्वासमा मिथिलामा यो उत्सव मनाइने परम्परा छ। सीताजी अर्थात् मैथिलीलाई आफ्नै चेलीबेटी मान्ने मिथिला परम्पराले गर्दा यहाँ रावणवध खास महत्त्वको उत्सव रहँदै आएको छ।

मिथिला क्षेत्रमा रावणवध उत्सव विजया दशमीका दिन साँझपख मनाइने चलन छ। “युद्धमा श्रीरामले शारदीय दशहरा (दशमी) का दिन साँझपख रावणवध गरेको विश्वास गरिन्छ”, मटिहानी–७ स्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का प्राचार्य हेमनारायण लाल कर्ण भन्छन्, “यसैले मटिहानीमा बर्सेनि दशमीका दिन साँझ रावणवध लीला गरिँदै आइएको छ।” मिथिलाकी चेली सीताजीको अपहरण गर्ने रावण यसै अपराधका लागि मारिएको कुरा मैथिलका लागि उत्सव नै बन्ने गरेको कर्ण बताउँछन्।

रावणवध उत्सवका अवसरमा मटिहानी–८ तस्मैयाबाबा उद्यानमा निर्मित ५१ फिट अग्लो रावण आकृतिलाई आग्नेय वाणको प्रतीकात्मक आगोको मुस्लो हानेर भष्म गरिने लीला आज बुधबार साँझ सम्पन्न गरिएको छ। यसैगरी जलेश्वरमा पनि रावणवध उत्सव सम्पन्न गरिएको छ।

मटिहानीमा वर्षौंदेखि विजया दशमीका दिन श्रीरामले असुर रावणको संहार गरेको सम्झनामा प्रतीकात्मक रूपमा उत्सव मनाउने परम्परा रहँदै आएको छ। मिथिलामा विजया दशमीका दिन देवी विसर्जनसँगै यसै दिन श्रीरामले रावणलाई संहार गरेको विश्वासमा रावण वध उत्सवको परम्परा रहँदै आएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल बताउँछन्।

दशहरा (दसैं) पर्व सत्य युगमा देवी दुर्गाले चण्ड, मुण्ड, महिषासुर र रक्तविजसहितका दैत्यको संहार प्रतीकात्मक रहेझैं मटिहानीमा रावण वध पनि जोडिएर आएको विश्वास गरिन्छ। सत्ययुगमा देवीले दैत्य संहार गरेझैं त्रेता युगमा श्रीरामले रावणसहितका असुर प्रवृत्तिको अन्त्य गरेको यही असोज शुक्लपक्षमा रहेको मानिन्छ।

खासगरी देवीले नवमीसम्म र श्रीरामले रावणको दशमीकै दिन वध गरेको विश्वासमा मटिहानीमा रावण वध उत्सवको परम्परा चलेको मटिहानीबासी बताउँछन्।

श्रीरामले दश इन्द्रियका दास दशानन (रावण) माथि विजय प्राप्त गरेको हुँदा ‘दशहारा’ (दश इन्द्रियको दासत्वलाई हराउने) पर्वका नामले प्रसिद्धि पाएको मैथिल लोकपरम्पराका जानकार जलेश्वर–७ बखरीका बासिन्दा पूर्वप्रशासक महेश्वर राय बताउँछन्। रावण वध उत्सव यस क्षेत्रको महत्त्वपूर्ण संस्कृति रहेको राय बताउँछन्।

मटिहानीमा ‘वध’ गरेको देखाइने रावणको ढलेको आकृति भोलिपल्ट उल्लासमय वातावरणमा बाजागाजासाथ जलाशयमा पुर्‍याई गहिरो पानीमा विसर्जन गर्ने परम्परा छ।