जनकपुरधामका शक्तिपीठहरूमा विधिपूर्वक हर्षोल्लासका साथ भित्र्याइयो फूलपाती https://nawalpurtoday.com/155916/

राम नारायण

सारांश
- महासप्तमीका अवसरमा जनकपुरधामको ऐतिहासिक राजदेवी मन्दिर लगायत शक्तिपीठहरूमा परम्परागत विधिपूर्वक हर्षोल्लासका साथ फूलपाती भित्राइएको छ।
- नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टुकडीको सलामी तथा सुरक्षा निकायको गारत बीच वैदिक विधिअनुसार बेलको फलसहितको नवपत्रिका राजदेवी मन्दिरको गर्भगृहमा प्रवेश गराइएको छ।
- मिथिलाञ्चलको शताब्दीयौँ पुरानो मौलिक परम्पराअनुसार ‘बेलनौती’ र ‘बेलतोडी’ विधि पूरा गरी फूलपाती भित्र्याएपछि जनकपुरधामका शक्तिपीठहरूमा दर्शनार्थीहरूको घुइँचो बढेको छ।

धनुषा । बडादसैँको सातौँ दिन अर्थात महासप्तमीका अवसरमा मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित प्रसिद्ध शक्तिपीठहरूमा परम्परागत विधिअनुसार हर्षोल्लासका साथ फूलपाती भित्र्याइएको छ । ऐतिहासिक राजदेवी मन्दिरमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टुकडीले सलामी अर्पण गर्दै भव्य रूपमा फूलपाती प्रवेश गराएको हो ।
श्री महावीर युवा कमिटी तथा श्री राम युवा कमिटीको संयुक्त संयोजनमा आयोजित समारोहमा बिहानैदेखि श्रद्धालुहरूको बाक्लो उपस्थिति थियो । शक्तिपीठ राजदेवी मन्दिर परिसरबाट निस्केको विशेष शोभायात्रा परम्परागत बाजागाजा र सांस्कृतिक झाँकीसहित जनकपुरधामको गिरिनारी कुट्टी प्राङ्गण पुगेको थियो । कुट्टी परिसरमा रहेको पवित्र बेलको रूखमुनि वैदिक विधिअनुसार पूजाअर्चना सम्पन्न गरी बेलको फल टिपेर ल्याइएको हो ।
मन्दिर व्यवस्थापन तथा स्थानीय अगुवाहरूका अनुसार सुरक्षा निकायको गारत सलामी र भक्तजनको जयघोषका बीच उक्त बेलको फलसहितको नवपत्रिकालाई राजदेवी मन्दिरको गर्भगृहमा विधिपूर्वक भित्र्याइएको छ । मिथिलाञ्चलमा दसैँका अवसरमा बेलको पूजा र विधिलाई अत्यन्तै श्रद्धा एवं महत्त्वका साथ लिने गरिन्छ । परम्पराअनुसार षष्ठी तिथिको साँझ बेलको फललाई रातो वा पहेँलो कपडाले बाँधेर विधिवत् रूपमा पूजा गरी निम्तो दिइने प्रचलनलाई स्थानीय भाषामा ‘बेलनौती’ भन्ने गरिन्छ ।
त्यसैगरी, सप्तमीको बिहान निम्ता गरिएको बेलको फल टिपेर मन्दिरमा ल्याई शक्तिस्वरूपा भगवतीलाई चढाउने वा बलि दिने विधिलाई ‘बेलतोडी’ भनिन्छ । शताब्दीयौँ पुरानो यो मौलिक परम्पराले मिथिलाको सांस्कृतिक वैभव तथा प्रकृतिपूजक विशिष्ट चरित्रलाई उजागर गरेको छ । फूलपाती भित्र्याएसँगै जनकपुरधामका शक्तिपीठहरूमा दर्शनार्थीहरूको घुइँचो बढेको छ ।


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना
अरुपनि पढ्नुहोस
सबै
चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

झापाको सानो माईखोलाको बगरमा बदाम खेती

कर्णालीको गौरव: धमाधम निर्माण हुँदै प्रशासनिक भवन
















