Opens in a new tab

बूढीगण्डकी बाढी : उत्तरी गोरखाको पाँच हजार घरधुरी विद्युत्‌विहीन

नवलपुर टुडे

2.2KShares

सारांश

  • बुढीगण्डकी नदीमा आएको बाढीका कारण उत्तरी गोरखामा करिब पाँच हजार घरपरिवार विद्युत्‌विहीन बनेका छन्।
  • चुमनुब्री गाउँपालिकामा सिर्दिबास उहिया लघु जलविद्युत् आयोजना बगाएपछि त्यहाँका नौ सय बढी घर अन्धकार बनेका छन् भने प्रशासनिक कामसमेत ठप्प भएको छ।
  • आरुघाटस्थित विद्युत् वितरण केन्द्रमा बाढीले क्षति पुर्‍याउँदा धार्चे गाउँपालिकाका चार हजार घरमा पनि बत्ती बाल्न कठिनाई उत्पन्न भएको छ।
dida bag ad

गोरखा । बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार घर विद्युत्‌विहीन बनेका छन् ।

आइतबार चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोला तर्फबाट बूढीगण्डकीमा आएको बाढीले पालिकाको वडा- ३ जगतस्थित सिर्दिबास उहिया लघु जलविद्युत् आयोजना बगाएको थियो ।

बाढीले जलविद्युत् आयोजना बगाएपछि चुमनुब्री गाउँपालिका वडा नं ३ र वडा नं ६ मा विद्युत् अवरुद्ध बनेको सिर्दिबास उहिया लघुजलविद्युत् आयोजनाका अध्यक्ष सुजन गुरुङले  बताए । गुरुङका अनुसार चुमनुब्रीको लोक्पा, दुङ्ला, न्याक, फिलिम, चिसापानी, आंगा, सस्र्युँ, नाग्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, पैयुँ, भालुवन, सिर्दिबास रजगतमा विद्युत् अवरुद्ध भएको हो ।

जसका कारण ९७१ घरधुरी प्रभावित बनेको उनले बताए । “बाढीले विद्युत्‌को १२ पोल बगायो, एउटा टावर र तारहरू पनि कता पुर्‍यायो, पुर्‍यायो । पावर हाउस  सुरक्षित छ,” उनले भने,”आइतबार बिहान ४ः०० बजे बाढी आएदेखि यो भेगमा बिजुली छैन ।”विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा परेको चुमनुब्रीको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटा बताउँछन् ।

विद्युत् र इन्टरनेट नहुँदा हाल पालिकाको प्रशासनिक काम ठप्प बनेको छ ।  हाल उत्तरी गोरखाको बाढी प्रभावित क्षेत्रमा एक गाउँबाट अर्को गाउँसम्म पुग्न सक्ने अवस्था समेत नरहेको चुमनुब्री गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुमारी गुरुङ बताउँछिन् । “फिलिमबाट न तल जाने ठाउँ छ, न त माथि जाने । बाढीले पुल, बाटो सबै बगायो,” उनले भनिन्, “झनै बिजुली पनि नहुँदा त यो ठाउँ अन्धकार बनेको छ ।

धन्न मानवीय क्षति भने भएको छैन ।” उत्तरी गोरखाको अधिकांश गाउँबस्तीमा बिजुली र इन्टरनेटको समस्या रहेको गुरुङको भनाइ छ । बाढीका कारण उत्तरी गोरखाको धार्चे गाउँपालिका झनै मर्कामा परेको छ ।

हाल गाउँपालिकाको सात वटै वडाका करिब चार हजार घर विद्युत्‌विहीन बनेको पालिकाको प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतले बताए । विद्युत् प्राधिकरणको आरुघाटस्थित वितरण केन्द्रमा बाढीले क्षति पुर्‍याएपछि धार्चे गाउँपालिका अन्धकार बनेको उनको भनाइ छ ।