Opens in a new tab

दसैँ मनाउन गाउँ फर्किनेको लर्को, २४ घण्टामा उपत्यकाबाट ५६ हजारभन्दा बढी बाहिरिए

रासस

975Shares

सारांश

  • बडादसैँ नजिकिँदै जाँदा अध्ययन र रोजगारीका लागि काठमाडौँमा बस्ने मानिसहरू आफ्नो घर फर्कने क्रम बढेसँगै उपत्यकाका विभिन्न नाकाहरूमा यात्रुको चहलपहल बाक्लो भएको छ।
  • ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै उपत्यकाका विभिन्न नाकाहरू प्रयोग गरी ५६ हजारभन्दा बढी मानिस बाहिरिएका छन्।
  • बिग्रिएका सडक र राजमार्गको अवरोधका कारण यातायात व्यवस्थापनमा केही कठिनाइ उत्पन्न भएकाले महासङ्घले सुरक्षित यात्राका लागि विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

काठमाडौँ । बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ । दसैँ मनाउन अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका मानिसहरू गाउँ फर्किन थालेका छन् ।

काठमाडौँ उपत्यकाका विभिन्न नाकामा लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । परिवार र आफन्तसँग दसैँ मनाउन घर फर्किने क्रम बढेसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या पनि बढेको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार बिहानदेखि आज बिहानसम्मको २४ घण्टामा उपत्यकाका विभिन्न नाका हुँदै ५६ हजार ८०९ यात्रु बाहिरिएका छन् ।

उनका अनुसार फर्पिङ नाकाबाट पाँच हजार ५१०, नागढुङ्गा नाकाबाट २७ हजार ६४९, थानकोट नाकाबाट ५६, भीमढुङ्गा नाकाबाट ५१३, तीनपिप्ले नाकाबाट ९७२, साँखु नाकाबाट ६०८, भक्तपुर नाकाबाट २० हजार ६१५ र भट्टेडाँडा नाकाबाट ८८६ यात्रु बाहिरिएका छन् ।

घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवस्थापनमा भने समस्या देखिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले सडकको अवस्थाका कारण सवारीसाधन व्यवस्थापनमा कठिनाइ भएको बताए ।

“दसैँको पूर्वसन्ध्यामा विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिँदा सवारीसाधन समयमा गन्तव्यमा पुग्न तथा काठमाडौँ आउन समस्या हुँदा सवारीसाधन व्यवस्थापनमा समस्या परेको छ,” उनले भने ।

असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएको दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर सवारी आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमै रोकिएको गौतमले बताए । यसले यात्रु व्यवस्थापनमा थप समस्या सिर्जना गरेको उनको भनाइ छ ।

महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ ।

दसैँ परिवार, आफन्त र समुदायसँग भेटघाट गरी मनाइने प्रमुख चाड भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बस्दै आएका मानिसहरू हरेक वर्ष यो समयमा घर फर्किने गर्छन् । यस वर्ष पनि दसैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्न थालेको छ ।

अरुपनि पढ्नुहोस

सबै