घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज

रासस

सारांश
- तनहुँको आँबुखैरेनी गाउँपालिकाले दसैँको अवसरमा ज्येष्ठ नागरिक तथा अशक्त लाभग्राहीलाई घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ।
- ‘जहाँ हाम्रा नागरिक, त्यही हाम्रो कार्यालय’ भन्ने नारासहित सञ्चालन गरिएको यो एकीकृत घुम्ती सेवामार्फत भत्ता वितरणसँगै सामान्य स्वास्थ्य जाँच तथा परामर्श सेवा पनि प्रदान गरिएको छ।
- बैंकसम्म पुग्न कठिनाइ हुने नागरिकलाई सहजता प्रदान गर्न गाउँपालिकाले विभिन्न बैंकहरूसँग समन्वय गरी वडाका टोलटोलमै पुगेर असोज २९ गतेसम्म यो सेवा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ।
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले दसैँको मुखमा सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक तथा अन्य लाभग्राहीलाई घरदैलोमै पुगेर भत्ता वितरण गर्नुका साथै स्वास्थ्य सेवा प्रदान गरेको छ ।
‘जहाँ हाम्रा नागरिक, त्यही हाम्रो कार्यालय, त्यही हाम्रो सेवा’ भन्ने नारासहित गाउँपालिकाले घरदैलोबाटै सामाजिक सुरक्षा भत्ता वितरणसँगै सामान्य स्वास्थ्य जाँच तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरेको हो ।
गाउँपालिकाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अर्थात् साउनदेखि असोजसम्मको सामाजिक सुरक्षा भत्ता वितरणका लागि एकीकृत घुम्ती सेवा सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक, ज्येष्ठ दलित नागरिक, ज्येष्ठ एकल महिला, विधवा, पूर्ण अपाङ्गता भएका व्यक्ति, अति अशक्त अपाङ्गता भएका व्यक्ति तथा पाँच वर्षमुनिका दलित बालबालिकालाई लक्षित गरिएको प्रमुख प्रशासकीय अधिकृत विकासचन्द्र शर्माले बताए ।
बैंकसम्म पुग्न कठिनाइ हुने ज्येष्ठ नागरिक तथा अशक्त लाभग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले टोलटोलमै पुगेर भत्ता वितरण तथा स्वास्थ्य सेवा प्रदान गरिएको उनले बताए । भत्ता वितरणसँगै सामान्य स्वास्थ्य जाँच र स्वास्थ्य परामर्श उपलब्ध गराउँदा लाभग्राहीलाई स्थानीयस्तरमै सेवा लिन सहज भएको छ ।
गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणका लागि यही असोज २२ देखि २९ गतेसम्म विभिन्न वडाका टोलमा सेवा सञ्चालन गर्ने समय तालिका सार्वजनिक गरेको छ । वडा नम्बर १ मा देवीडाँडा आमासमूह भवन (तिलडाँडा)मा सोमबार सेवा प्रदान गरिएको छ भने समस्तीपुर (चौतारा) मा आज सेवा प्रदान गरिनेछ ।
वडा नं २ का एक्लेफाँटमा असोज २३ गते सेवा प्रदान गरिएको थियो भने तिलबारी, नयाँगाउँ, डुम्रीखर्कमा सोमबार सेवा प्रदान गरिएको छ । ढापटार, नारीघाट, खानीखोला, ढकालटार, अदुवाखर्क, घोक्रिङखर्क र सहकारी टोलमा असोज २७, २८ र २९ गते सेवा उपलब्ध गराइनेछ ।
गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणका लागि प्रभु बैंक लिमिटेडको बरादी शाखा तथा प्राइम कमर्सियल बैंक, कुमारी बैंक, एनएमबी बैंक र ज्योति विकास बैंकका आँबुखैरेनी शाखासँग समन्वय गरेको छ ।
आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक तथा अशक्त लाभग्राहीलाई सहज र सरल रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले घरदैलोमै पुगेर भत्ता वितरण तथा स्वास्थ्य सेवा प्रदान गरिएको बताए ।
स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले नागरिकले सेवा लिन अनावश्यक दुःख र झन्झट व्यहोर्न नपरोस् भन्ने उद्देश्यले एकीकृत घुम्ती सेवा सञ्चालन गरिएको उनको भनाइ छ ।
“नागरिकलाई सेवा लिन कार्यालय वा बैंकसम्म धाउनुपर्ने अवस्था कम गर्दै स्थानीय सरकार आफैँ नागरिकको घरदैलोसम्म पुग्नुपर्छ भन्ने हाम्रो मान्यता हो”, उनले भने ।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















