हराउन थाले दसैँका परम्परागत पिङ

नवलपुर टुडे

सारांश
- नेपालीहरुको महान् पर्व बडादसैँ सुरु भए पनि दसैँको पर्यायवाची मानिने मौलिक पिङ संस्कृति गाउँघरबाट समेत हराउँदै गएको छ।
- बजारमा सार्वजनिक स्थानको अभाव, आधुनिक मनोरञ्जनका विकल्प र युवापुस्तामा सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत पिङ लोप हुँदै गएका हुन्।
- पिङ खेल्ने र बनाउने चलन घट्दा दसैँको रौनक र उमङ्ग पनि खल्लो बन्दै गएको स्थानीयवासी तथा जनप्रतिनिधिले चिन्ता व्यक्त गरेका छन्।
डडेल्धुरा,असोज २६। नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ भने गाउँघरबाट हराउँदै जान थालेको छ । आइतबार घटस्थापनासँगै यस वर्षको दसैँ घर–घरमा प्रवेश गरेको छ ।
मठमन्दिरसहित घरमा घटस्थापना गरे पनि बजार र गाउँघरको चहलपहल भने निकै फरक छ । रोजगारीको सिलसिलामा विदेश गएका होस् या काम विशेषले सहर छिरेकाहरु होस् यतिबेला मान्यजनको हातबाट दसैँको टीका थाप्न धमाधम जन्म घर फर्किरहेका छन् ।
आलिताल गाउँपालिका–४ का जोगराज भट्टले भन्नुभयो, “सहरबजारमा त केही वर्ष पहिले नै पिङ हराउँदै गएका थिए, अब गाउँघरमा समेत हराउन थाले, यसले दसैँको उमङ्ग पनि घट्दै गएको छ, पिङ राख्ने भनेपछि टोल छरछिमेक सबै जम्मा हुने गर्थौं, वर्षौंसम्म पनि भेट नभएका साथी दसैँमा पिङ खेल्ने ठाउँमा जम्मा हुने बहाना बन्थ्यो, बालबालिकाको उत्साह पनि उस्तै हुन्थ्यो, पिङ मात्रै हराएन, पिङसँगै दसैँको रमाइलो पनि हराएजस्तो लाग्न थाल्यो ।”
बजारक्षेत्रमा सार्वजनिक स्थानको कमी, मनोरञ्जनका विभिन्न विकल्प, सामाजिक सञ्जालमा रमाउने जमात बढ्दा दसैँमा पिङ राख्ने विषय हराउँदै गएको छ । पहिले टोल–टोलमा राखिने पिङ अहिले सिङ्गो गाउँमा भेट्न मुस्किल हुने गरेकोे अमरगढी नगरपालिका– ३ का गीताञ्जली साउद बताउनुहुन्छ ।
गाउँघरमा पहिले पहिले दसँै आउनुभन्दा एक हप्ताअगाडि नै रोटेपिङ राख्ने गरेकामा यो भने हराउँदै गएको छ । अजयमेरु–३ का ८५ वर्षीय वृद्ध पदम एडीले भन्नुभयो, “पहिले दसैँ आउनु एक साताअघि पिङका लिङ्गा खोज्ने, बाँस काट्ने, बजारमा पाउने लट्ठा नभए, बाबियो काटी डोरी बाट्ने चटारो हुन्थ्यो, अहिले सबै नौलोजस्तो बनेको छ, गाउँघरमा पिङ राख्ने चलन घट्दै गएको छ ।”
फाटफुट रूपमा कहीँ कतै पिङ राख्ने गरेको भए पनि पहिलेभन्दा निकै कम भएको छ । लिङ्गेपिङलाई चार दिशामा बाँस गाडेर, बाबियाबाट निर्मित लठारो प्रयोग गरी तयार गरिन्थ्यो र शिरमा सयपत्री, लालुपातेजस्ता फूलहरू राखेर सिँगार्दा पिङ चिटिक्क परेकी बेहुलीजस्तै देखिन्थ्यो । बालबालिकादेखि वृद्धसम्म हरेक उमेरका मानिसले पिङ खेल्ने चलन भए पनि युवा पिङ खेल्नमा बढी नै उत्साही हुन्थे । तर बढ्दो प्रविधिले परम्परागत मौलिकता हराउन थालेका छन् ।
पछिल्लो समय, सामाजिक सञ्जालमा रमाउने जमात बढ्दा दसैँमा पिङ राख्ने विषय हराउँदै जाँदा नेपाली पर्वको महत्व पनि विस्तारै हराउँदै जान थालेको छ । अझै गाउँघरमा दसैँको टीकाको दिन एक पटक भए पनि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने जनविश्वास रहिआएको छ ।
मान्छेहरु फेसबुक, इन्स्टाग्राम र टिकटकमा रमाउन थालेका छन् । अजयमेरु गाउँपालिकाका अध्यक्ष विकास भट्टले दसैँ र तिहारजस्ता चाडमा राखिने पिङसँगै मौलिक परम्परा हराउने हो कि भन्ने चिन्ता लागेको बताउनुभयो । अहिले मानिसले खासै त्यो प्रति चासो नै दिँदैनन् सामाजिक सञ्जालमै व्यस्त हुने गरेको उहाँले बताउनुभयो ।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















