सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

रासस

सारांश
- मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै चल्ने यातायातमा बढेको चापलाई मध्यनजर गर्दै दसैँका यात्रुबाहक र अत्यावश्यक वस्तु बोकेका सवारीसाधनलाई पहिलो प्राथमिकता दिइएको छ।
- त्रिभुवन राजपथको साँघुरो र अप्ठ्यारो सडकमा सवारी व्यवस्थापन गर्न आलोपालो प्रणाली अपनाइएको छ भने ठूला तथा भारी मालवाहक सवारीसाधनको सञ्चालनमा रोक लगाइएको छ।
- चाडपर्वका बेला हुन सक्ने ठगी र दुर्घटना रोक्न हेटौँडामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइनुका साथै जोखिमयुक्त स्थानहरूमा ट्राफिक प्रहरी परिचालन गरिएको छ।
हेटौँडा । मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारी साधनको चाप बढेसँगै बडादसैँका यात्रुवाहक सवारी साधनलाई प्राथमिकता दिएर आवागमनको व्यवस्थापन गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख रमेश विष्टले यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा राखेर त्रिभुवन राजपथलगायत वैकल्पिक सडकमार्गमा सवारी व्यवस्थापन गरिएको जानकारी दिए । उहाँका अनुसार यात्रुवाहक सवारीसाधनपछि इन्धन तथा खाना पकाउने ग्यास बोकेका सवारीसाधनलाई प्राथमिकता दिइएको छ ।
धादिङको गल्छी क्षेत्रमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारीसाधनको चाप बढेको उनले बताए । त्रिभुवन राजपथ साँघुरो हुनुका साथै घुम्तीहरूमा ठूला सवारीसाधनलाई आवतजावत गर्न कठिनाइ हुने भएकाले आलोपालो प्रणालीमार्फत सवारी सञ्चालन गरिएको छ ।
“यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिएका छौँ । सडक साँघुरो र घुम्तीहरू अप्ठ्यारा भएकाले समय मिलाएर सवारी सञ्चालन गर्नुपरेको छ”, प्रमुख विष्टले भने । उनका अनुसार सवारी व्यवस्थापनका क्रममा कतिपय सवारी साधनलाई एकदेखि दुई घण्टासम्म रोक्नुपर्ने अवस्था छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्धारण गरेको व्यवस्थाअनुसार त्रिभुवन राजपथमा ११ मिटरसम्म लम्बाइ भएका यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न दिइएको छ । त्यस्तै, १० चक्काभन्दा बढी भएका तथा १५ टनभन्दा बढी भार बोकेका मालवाहक सवारी साधनलाई उक्त सडकखण्ड प्रयोग गर्न रोक लगाइएको छ ।
साना यात्रुवाहक सवारी साधनका लागि भीमफेदी सडकखण्डबाट आवागमनको व्यवस्था मिलाइएको प्रमुख विष्टले जानकारी दिए । हेटौँडाको चौकीटोलमा टाटा सुमो तथा विद्युतीय सवारीसाधनको पार्किङ र यात्रु चढाउने व्यवस्था गरिएको छ । भीमफेदी सडकखण्डमा साना सवारीसाधनको दोहोरो आवागमन भइरहेको, देउराली तथा जुरिखेतलगायत स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको उनले बताए ।
यसैबिच, आइतबारदेखि सुरु हुने बडादसैँलाई लक्षित गरी हेटौँडा बसपार्क र चौकीटोलमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ । यात्रुबाट बढी भाडा असुल्ने, सवारीसाधन चढ्न समस्या हुने तथा सडकको अवस्थाबारे जानकारी लिनुपर्ने अवस्थालाई ध्यानमा राखेर सहायता कक्ष स्थापना गरिएको प्रमुख विष्टले जानकारी दिए ।
उनका अनुसार सवारी दुर्घटना न्यूनीकरणका लागि साँघुरा सडक, अप्ठ्यारा घुम्ती तथा जोखिमयुक्त स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको छ । चालकलाई तीव्र गतिमा सवारी नचलाउन, जथाभावी ओभरटेक नगर्न तथा सडकको अवस्थाअनुसार सावधानी अपनाउन सचेत गराइएको छ ।
कार्यालयमा उपलब्ध ट्राफिक जनशक्तिलाई सवारी व्यवस्थापनमा परिचालन गरिएको जनाउँदै प्रमुख विष्टले सडकको अवस्था र सवारी चापलाई ध्यानमा राखेर थप व्यवस्थापन गरिने बताए ।

बुधबारदेखि झरी पार्ने प्रणाली विकास हुन सुरु : मौसम विज्ञान विभाग

रास्वपाको कोर टिम प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्र गर्दैछ : प्रभु साह

बाजुराको चारवटा वडा अझै सडक सञ्जालको पहुँच बाहिर

आज दसैँको टीकाको चौथो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

सिरहाको जिरोमाइलमा बसको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते
अरुपनि पढ्नुहोस
सबै
धनुषामा बालिकालाई ब्ल्याकमेलिङ गरेको आरोपमा चारजना पक्राउ

देशका विभिन्न जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटना ८ जनाको मृत्यु

स्याङजामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

कारागारमा हुँदा गरेको भाकल पूरा गर्न रास्वपा सभापति लामिछाने भारतमा
















