८७ वर्षीया ‘मारिकार्मेन’को मृत्युपछि स्पेनमा चर्कियो आवास संकटविरुद्ध प्रदर्शन

एजेन्सी

सारांश
- स्पेनमा अत्यधिक भाडा वृद्धिका कारण ७० वर्षदेखि बस्दै आएको घरबाट निकालिएकी ८७ वर्षीया मारिया डेल कार्मेन अबास्कालको मृत्यु भएपछि देशव्यापी रूपमा ठूलो प्रदर्शन चर्किएको छ।
- अबास्कालको अकलमृत्युले स्पेनमा गहिरिँदो आवास संकट, घरधनीहरूको मनोमानी र यसबाट वृद्धवृद्धा तथा विपन्न वर्गले भोग्नुपरेको समस्यालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ।
- यस घटनापछि स्पेनिस संसद् र राजनीतिक वृत्तमा तीब्र विवाद उत्पन्न भएको छ भने नागरिकहरूले आवास बजारमा कडा सरकारी हस्तक्षेप र आवासको अधिकार सुनिश्चित गर्न माग गरेका छन्।
म्याड्रिड । स्पेनमा ८७ वर्षीया मारिया डेल कार्मेन अबास्कालको मृत्युपछि आवास संकटविरुद्ध देशव्यापी प्रदर्शन चर्किएको छ । घरबाट निकालिएपछि बिरामी परेकी अबास्कालको मृत्युलाई लिएर हजारौँ मानिसले राजधानी म्याड्रिडस्थित संसद् भवनबाहिर प्रदर्शन गरेका छन् ।
अबास्कालको मृत्युको घटनाले घरको बढ्दो भाडा, आवासको अभाव र विस्थापनको समस्या राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ । अबास्कालको बुधबार मृत्यु भएको थियो ।
भवन किनेपछि नयाँ मालिकले अबास्कालको मासिक भाडा २०० प्रतिशतभन्दा बढी बढाएर करिब १ हजार ८८० अमेरिकी डलर पुर्याएका थिए । पेन्सनबाट यति धेरै भाडा तिर्न नसक्ने अवस्था सिर्जना भएपछि सेप्टेम्बर २३ मा उनलाई स्ट्रेचरमा राखेर म्याड्रिडस्थित घरबाट निकालिएको थियो ।
त्यसपछि गम्भीर मानसिक तनाव र थकानका कारण उनी अस्पताल भर्ना भएकी थिइन् । अस्पतालमै रहँदा उनी पुनः आफ्नै घर फर्कन पाउने सहमति भएको थियो । तर घर फर्कनुअघि नै उनको मृत्यु भयो । उनको मृत्युको कारण भने सार्वजनिक गरिएको छैन ।
नयाँ मालिकले लामो समयदेखि बसिरहेका भाडावाललाई हटाएर भवनका अपार्टमेन्टलाई पर्यटकका लागि भाडामा लगाउने र त्यसबाट बढी आम्दानी गर्ने उद्देश्य राखेको आरोप छ ।
अबास्कालको घटनाले वृद्धवृद्धा तथा आर्थिक रूपमा कमजोर मानिसलाई आवास संकटले कसरी प्रभावित पारिरहेको छ भन्ने प्रश्न उठाएको छ ।
‘उनको मन टुटाएर मारियो,’ प्रदर्शनकारी डायना भन्छिन्, ‘७० वर्ष एउटै घरमा बसेकी ८७ वर्षीया महिलालाई त्यहाँबाट निकाल्नु पनि हत्या गर्नुजस्तै हो ।’
प्रदर्शनकारीहरूले ‘यी मृत्यु होइनन्, हत्या हुन्’ भन्दै नाराबाजी गरेका थिए । उनीहरूले राजधानीको पुएर्ता डेल सोल क्षेत्रमा रहेको प्रदर्शनस्थलबाट अबास्कालको पूर्वघर पुगेर श्रद्धाञ्जली दिएका थिए । उनको घरबाहिर फूल, मैनबत्ती, हस्तलिखित सन्देश र बालबालिकाले बनाएका चित्र राखिएका थिए ।
- संसद्मा पनि राजनीतिक विवाद
अबास्कालको घटनापछि आवास संकटलाई लिएर स्पेनको संसद् र क्षेत्रीय राजनीतिमा विवाद चर्किएको छ । प्रधानमन्त्री पेद्रो सान्चेजले संसद्बाट आपत्कालीन आवाससम्बन्धी उपाय पारित हुन नसकेपछि नोभेम्बर २९ मा मध्यावधि निर्वाचन घोषणा गरेका छन् ।
विपक्षी कन्जरभेटिभ पिपुल्स पार्टीका नेता अल्बेर्तो नुनेज फेइजुले सान्चेज र सत्तारूढ समाजवादी दलले निर्वाचनअघि जनताको भावनालाई राजनीतिक प्रतिफलका लागि प्रयोग गर्न खोजेको आरोप लगाए ।
फेइजुको दलको बहुमत रहेको म्याड्रिडको क्षेत्रीय र स्थानीय सभामा अबास्कालको सम्मानमा एक मिनेट मौनधारण गर्ने प्रस्तावलाई समेत समर्थन गरिएन । त्यसको विरोधमा वामपन्थी सांसदहरूले सिटी हलअगाडि मौनधारण गरे । क्षेत्रीय सभामा वामपन्थी सांसदहरूले अबास्कालको सम्मानमा एक मिनेट उभिएर ताली बजाएका थिए ।
- आवास बजारमा सरकारी हस्तक्षेपको माग
सरकारी सर्वेक्षण संस्था सीआईएसले जुनमा गरेको र बिहीबार सार्वजनिक गरेको सर्वेक्षणअनुसार ७६.३ प्रतिशत स्पेनी नागरिक आवासमा सबैको पहुँच सुनिश्चित गर्नुपर्ने पक्षमा छन् । उनीको आवास बजारमा सरकारी हस्तक्षेप गरेर स्थितिमा सुधार ल्याउनुपर्ने धारणा छ । त्यस्तै, ७९ प्रतिशतले आवासलाई व्यावसायिक वस्तुका रूपमा हेर्नुभन्दा आवासको अधिकारलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
स्पेनका लोकपाल अधिकारी एन्जेल गाबिलान्दोले सार्वजनिक आवास विस्तार, पर्यटकलाई भाडामा दिइने घरमाथि नियन्त्रण, भाडा सहायता वृद्धि र जोखिममा रहेका परिवारलाई घरबाट निकाल्न नदिने सुरक्षात्मक व्यवस्था बलियो बनाउनुपर्ने बताएका छन् ।
अबास्कालको मृत्युपछि उठेको आन्दोलनले स्पेनको आवास संकटलाई केवल आर्थिक विषय नभई सामाजिक न्याय र राजनीतिक जवाफदेहितासँग पनि जोडेको छ ।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















