‘लमजुङ दरबार’सँगै बाँचेको माया

रासस

सारांश
- वरिष्ठ लोकगायिका माया गुरुङले बाल्यकालदेखि नै गीतसङ्गीतलाई जीवनको आधार बनाउँदै आफ्नो साङ्गीतिक यात्रा निरन्तर अगाडि बढाएकी छिन्।
- उनले गाएको ‘गाउँसहरमा लमजुङ दरबार…’ गीतले अञ्चलस्तरीय प्रतियोगितामा प्रथम स्थान हासिल गरी उनलाई साङ्गीतिक क्षेत्रमा स्थापित गराएको थियो।
- मौलिक संस्कृतिको संरक्षणमा सक्रिय रहँदै आएकी उनको आगामी मङ्सिर १९ गते ‘माया गुरुङ एकल साङ्गीतिक साँझ–२०८३’ आयोजना हुँदैछ।
लमजुङ । ‘गाउँसहरमा लमजुङ दरबार…’ गीतका यी शब्दसँगै लमजुङको साङ्गीतिक पहिचानका रूपमा सम्झिने नाम हो– वरिष्ठ लोकगायिका माया गुरुङ ।
लामो समयदेखि लोकगीत, सङ्गीतको यात्रामा रहेकी गुरुङका लागि गीत मनोरञ्जनको माध्यममात्रै बनेन, जीवन जिउने आधार र पहिचानको हिस्सा पनि बन्यो ।
बेँसीसहर नगरपालिका–५ नाल्मामा जन्मिएकी गुरुङले करिब १२ वर्षको उमेरदेखि गाउँघरका रोदी, मेलापात, विवाह तथा पूजापर्वमा गीत गाउन थालिन् । त्यतिबेला गीत गाएबापत पारिश्रमिक पाइँदैनथ्यो । कतिपय ठाउँमा आवातजावत खर्चसमेत नपुग्ने अवस्था थियो । परिवार र आफन्तको साथमा उनको गायनयात्रा भने रोकिएन ।
विसं २०४४ मा पोखरा पुगेपछि रेडियो नेपालका लोकगीत सुन्ने अवसर पाएसँगै उनमा पनि गीत गाउने रहर बढ्यो । अवसर खोज्दै जाँदा त्यसको एक वर्षपछि २०४५ सालमा रेडियो नेपालको ‘प्रतिभा’ कार्यक्रममा उनले गीत गाउने अवसर प्राप्त गरिन् । त्यसपछि उनकै शब्द र स्वरका लोकगीत रेडियो नेपालमा गुञ्जिन थाले ।
विसं २०४५ फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा रेडियो नेपालले आयोजना गरेको अञ्चलस्तरीय खुला लोकगीत प्रतियोगितामा उमा गुरुङसँग मिलेर ‘गाउँसहरमा लमजुङ दरबार’ गीत गाइन् । प्रतियोगितामा प्रथम हुँदै स्वर्ण पदक प्राप्त गरेको उक्त गीतले उनलाई साङ्गीतिक क्षेत्रमा स्थापित गराउनुका साथै लमजुङको साङ्गीतिक पहिचानसमेत फराकिलो बनायो ।
‘सैलुङे डाँडा नाल्माको’, ‘माया सरर’ र ‘खुर्पेटो डोकोले’ उनका चर्चित सृजना हुन् । गीतसङ्गीतको यात्रासँगै उहाँको व्यक्तिगत जीवन भने सहज रहेन । विसं २०४३ मा लेखमान गुरुङसँग पोखराको विन्ध्यवासिनी मन्दिरमा प्रेमविवाह गरेकी गुरुङले त्यसपछि पारिवारिक कठिनाइ झेल्नुपर्यो ।
घरपरिवारको जिम्मेवारी र आर्थिक अभावबीच पनि उनले गायनलाई छाडिनन् । कलाकारिताबाट मात्रै जीविकोपार्जन गर्न कठिन भएपछि पशुपालनलगायतका काम गरिन् । “यत्तिका वर्ष कलाकार भएँ, मैले पैसा कमाइनँ, इज्जत र दर्शक कमाएँ, यसमा खुसी छु”, उनले भनिन् । लामो समयदेखि आफ्नै एकल साङ्गीतिक कार्यक्रम गर्ने उनको चाहना अब पूरा हुँदैछ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, लमजुङ जिल्ला समितिको आयोजनामा आगामी मङ्सिर १९ गते बेँसीसहर नगरपालिका–८ स्थित फूलबारी मञ्चमा ‘माया गुरुङ एकल साङ्गीतिक साँझ–२०८३’ आयोजना हुँदैछ । कार्यक्रमबाट बचत भएको रकम कलाकार कल्याण कोष स्थापनामा उपयोग गर्ने तयारी गरिएको छ ।
उनी पुराना लोकभाका र मौलिक संस्कृतिको संरक्षणसँगै नयाँ पुस्ताले आफ्ना मौलिक गीत, सङ्गीत र संस्कृतिलाई नबिर्सियोस् भन्ने चाहन्छिन् । समयसँगै गीत सुन्ने माध्यम र शैली फेरिए, कतिपय पुराना भाका ओझेल परे । तर उनको गीतसङ्गीतप्रतिको प्रेम भने उस्तै छ । “मर्ने बेलासम्म यही ‘लमजुङ दरबार’ गाउँदै मर्न पाऊँ । मरिसकेपछि पनि यही गीत गाएर मलाई बिदाइ गरियोस् । म नरहे पनि ‘लमजुङ दरबार’ गीत सधैँभरि गुञ्जिरहोस् भन्ने मेरो चाहना हो”, उनले भनिन् ।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















