Opens in a new tab

तनहुँ र नवलपुर जोड्ने कालीगण्डकी पुलको पहुँच सडक मर्मत सुरु

नवलपुर टुडे

2.4KShares

सारांश

  • अवरिल वर्षा र बाढीका कारण क्षतिग्रस्त तनहुँ र नवलपुर जोड्ने कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक अब पुनर्निर्माण गरिने भएको छ।
  • असोज ११ को बाढीले सडक क्षतिग्रस्त बनाएपछि सवारीसाधनको आवागमन प्रभावित हुँदै आएकोमा नवलपुरतर्फको सडक भने यसअघि नै बनिसकेको छ।
  • सडक डिभिजन दमौलीको समन्वयमा आवश्यक उपकरण कार्यस्थलमा पुगी छिट्टै निर्माण सम्पन्न गरी पुल सञ्चालनमा ल्याइने तयारी गरिएको छ।

दमौली (तनहुँ)। अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली जोड्ने कालीगण्डकी नदीमाथिको पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण गरिने भएको छ ।

यही असोज ११ को बाढीले पहुँच सडक क्षतिग्रस्त भएपछि पुलबाट सवारीसाधन सञ्चालन हुन नसक्दा तनहुँ हुँदै नवलपुर जाने तथा नवलपुरबाट तनहुँ हुँदै पोखरा आउने सवारीसाधनको आवागमन प्रभावित हुँदै आएको छ ।

कालीगण्डकीको बाढीका कारण क्षतिग्रस्त नवलपुरतर्फको पहुँच सडक निर्माण भइसके पनि तनहुँतर्फको निर्माणकार्य भने बल्ल सुरु गर्न लागिएको हो । त्यसका लागि आवश्यक उपकरण बिहीबार नै कार्यस्थलमा पुगिसकेको छ ।

घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले सडक डिभिजन दमौलीको समन्वयमा पहुँच सडक निर्माण सुरु गर्न लागिएको जानकारी दिए । कालीगण्डकी पुल सञ्चालनमा नआउँदा स्थानीयवासीसँगै लामो दूरीका यात्रु तथा व्यवसायी प्रत्यक्ष प्रभावित भएको बताए। अध्यक्ष थापाले पहुँच सडक निर्माणकार्य छिटो सम्पन्न गरी पुल सञ्चालनमा ल्याइने बताए।

पुलको नवलपुरतर्फ डेढगाउँको पहुँच सडक निर्माणकार्य भने यसअघि नै सम्पन्न भइसकेको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले जानकारी दिए। उनले नवलपुरतर्फको पहुँच सडक निर्माणका लागि स्थानीयवासीले श्रमदान गरेको बताए।

अरुपनि पढ्नुहोस

सबै