Opens in a new tab

कांग्रेसको १५औँ महाधिवेशन : बिहान ७ बजेबाट मतदान सुरु हुँदै

नवलपुर टुडे

2.9KShares

सारांश

  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ।
  • मतदान सम्पन्न भएपछि मतपेटिकाहरू कांग्रेस केन्द्रीय कार्यालय सानेपा लगिने र त्यहीं १२ देखि १३ स्थानमा एकैपटक मतगणना हुनेछ।
  • उम्मेदवारको संख्या धेरै भएका कारण मतपत्र छपाइमा ढिलाइ भएको र मतदान सकिएको तीन दिनभित्र सबै नतिजा सार्वजनिक गरिनेछ।

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज मतदान हुँदैछ । बिहीबारका लागि तय गरिएको मतदान आज हुन लागेको हो । महाधिवेशन प्रतिनिधिहरूलाई बिहान ६ बजे नै निर्वाचन क्षेत्रमा उपस्थित हुन भनिएको छ ।

बिहान ७ बजेबाट सुरु हुने मतदान दिउँसो ३ बजेसम्म हुनेछ । मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ । शुक्रबार साँझ ५ बजेसम्म मतदानको सबै प्रक्रिया पूरा हुने दाबी गरिएको छ ।

मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुनेछ । शुक्रबार मतदान भएपछि मतपेटिकाहरू मतगणनाका लागि कांग्रेस केन्द्रीय कार्यालय, सानेमा लगिनेछ । पार्टी कार्यालयमा १२ देखि १३ स्थानमा एकैपटक मतगणना गर्ने समितिको तयारी छ । मतगणनाका लागि पाँचसय कानुन व्यवसायी तयारी अवस्थामा राखिएको छ ।

यसैबीच, निर्वाचन समितिले बिहीबार साँझ मात्र मतपत्र छपाइको काम सकिएको जनाएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार, महाधिवेशनमा ८५० जनाले मनोनयनपत्र दर्ता गराएका थिए । उनीहरूको उमेदवारीको वैधता परीक्षण गर्न धेरै समय लागेकाले मतपत्र छपाइमा ढिलाइ भएको हो ।

कुल २३ वटा मतपत्र डिजाइन गर्दा जम्मा एक लाख ८० हजार आवश्यक पर्ने भए पनि समितिले दुई लाख प्रति मतपत्र छापेको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मतदान सकिएको तीन दिनभित्र सबै नतिजा सार्वजनिक गरिने बताएका छन् ।

अरुपनि पढ्नुहोस

सबै