Opens in a new tab

हामी निर्वाचनको आन्तरिक तयारीमै छौँ : प्रमुख निर्वाचन आयुक्त कार्की

रासस

3.2KShares

सारांश

  • प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमा जुटेको बताएका छन्।
  • सरकारसँगको परामर्शमा संवैधानिक प्रावधानअनुसार मिति तय हुने र लामो समय स्थानीय निकाय खाली राख्न नहुने उनको भनाइ छ।
  • निर्वाचनको मिति सरकारले घोषणा गर्ने र तोकिएको मितिमा निष्पक्ष तथा विवादरहित ढङ्गले निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको उनले स्पष्ट पारेका छन्।

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमै रहेको बताएका छन्।

बुधबार एक कार्यक्रममा उनले भने, “हामी आगामी निर्वाचनको तयारीमै छौँ, त्यसो त आयोग सदैव निर्वाचनको तायरीमा रहन्छ नै । निर्वाचनको मिति सरकारले तोक्ने हो, यसरी तोकिएको मितिमा निष्पक्ष एवं विवादरहित ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने दायित्व आयोगको हो, त्यसमा हामी प्रतिबद्ध छौँ।”

स्थानीय तहको आगामी निर्वाचन फागुनमा नै गर्नेगरी सरकार अघि बढेको भन्ने समाचार पनि आएको छ नी भन्ने प्रश्नमा उनको भनाइ थियो, “मितिका बारेमा अहिले नै आयोगले भन्ने कुरा भएन । हाम्रो संवैधानिक प्रावधानअनुरुप आयोगसमेतको परामर्शमा सरकारले मिति घोषणा गर्ने हो । तर, लामो समयसम्म स्थानीय निकाय खाली राख्नुहुन्न भन्ने पक्षमा छौँ । त्यसैअनुसार हाम्रो तयारी पनि भइरहेको छ ।”

आगामी वैशाखमा स्थानीय तहको कार्यकाल सकिने भएकाले त्यसको वरपर रहनेगरी र संवैधानिक व्यवस्थाअनुसार नै निर्वाचन हुने उनको भनाइ थियो।

स्थानीय तह र प्रदेशको निर्वाचन एकैसाथ गर्नेगरी आयोगले तयारी थालेको हो भन्ने प्रश्नमा उनको भनाइ थियो, “हाम्रो संवैधानिक संरचना र कानुनी प्रावधानअनुरुप नै निर्वाचन हुने हो । त्यसमा हाम्रो आवश्यकताको पनि कुरा छ । त्यसैले अहिले नै चुनाव एकैसाथ हुन्छ भनेर भन्न सकिँदैन । सरकारले मिति घोषणा गरेअनुसार नै हामीले काम गर्ने हो।”

अरुपनि पढ्नुहोस

सबै