युक्रेन युद्धकै समयमा युरोपमा ग्यास बेच्नबारे रुस–अमेरिकाबिच छलफल

एजेन्सी

सारांश
- अमेरिका र रुसबीच युरोपमा रुसी प्राकृतिक ग्यास पुनः बिक्री गर्न नर्ड स्ट्रिम पाइपलाइनमा अमेरिकी लगानी भित्र्याउने विषयमा छलफल भइरहेको छ।
- युरोपको सबैभन्दा ठूलो ऊर्जा उपभोक्ता जर्मनीले वैकल्पिक ऊर्जाको व्यवस्था गरिसकेको र प्रतिबन्धहरूका कारण हाल यो पाइपलाइन पुनः सञ्चालन गर्ने पक्षमा नरहेको बताएको छ।
- यस प्रस्तावित सम्झौताले युरोपमा राजनीतिक विवाद निम्त्याउन सक्ने तथा पोल्यान्ड र बाल्टिक देशहरूले रुसप्रतिको सुरक्षा निर्भरता बढ्ने भन्दै विरोध गरेका छन्।
काठमाडौँ । युक्रेनमा रुसको युद्ध जारी रहेकै बेला अमेरिका र रुसबीच युरोपमा रुसी प्राकृतिक ग्यास पुनः बिक्री गर्ने सम्भावनाबारे छलफल भइरहेको खुलेको छ ।
रुसबाट जर्मनीमा ग्यास पुर्याउने नर्ड स्ट्रिम पाइपलाइनमा अमेरिकी लगानीकर्ता भित्र्याउने र युद्धपछि त्यसबाट युरोपमा ग्यास आपूर्ति पुनः सुरु गर्ने विषयमा अमेरिकी र रुसी अधिकारीहरूबीच कुराकानी भएको स्रोतहरूले बताएका छन् ।
रोयटर्सका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुसनर र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी किरिल दिमित्रिएभबीच यसबारे छलफल भएको हो । यस विषयमा जानकारी भएका पाँच जनाले यस्तो जानकारी दिएका छन् ।
कुसनर रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्ताको प्रयासमा संलग्न छन् । उनी युद्ध अन्त्यपछि व्यापारिक सम्बन्ध विस्तारलाई शान्ति कायम गर्ने एउटा माध्यमका रूपमा अघि बढाउन चाहिरहेका छन् । प्रस्तावित ऊर्जा सम्झौताबाट युरोपतर्फ जाने रुसी ग्यासबाट अमेरिकी लगानीकर्ताले पनि नाफा कमाउन सक्ने अपेक्षा गरिएको छ ।
कुसनर र दिमित्रिएभले पछिल्ला सातामा मस्को र न्युयोर्कमा भेटवार्ता गरेका छन् । ती भेटमा नर्ड स्ट्रिमबारे कति विस्तृत छलफल भयो भन्ने स्पष्ट छैन । तर स्रोतहरूका अनुसार पाइपलाइन पुनः सञ्चालन गर्ने विषय अझै छलफलको एजेन्डामा छ ।
ह्वाइट हाउसका एक अधिकारीले कुनै पनि सम्भावित सम्झौता रुसले अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डिएफसि) र अर्थ मन्त्रालयसँग वार्ता गरेर अघि बढाउनुपर्ने बताएका छन् । सम्झौताले अमेरिकी करदाता र कम्पनीलाई फाइदा पुर्याउनुपर्ने उनको भनाइ छ । यद्यपि ती अधिकारीले हालै नर्ड स्ट्रिमबारे कुनै छलफल नभएको दाबी गरेका छन् ।
जर्मनी तयार छैन
युरोपको सबैभन्दा ठूलो ऊर्जा उपभोक्ता जर्मनी अहिले नर्ड स्ट्रिम पुनः सञ्चालन गर्ने पक्षमा छैन । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गर्नुअघि जर्मनीले आफ्नो आधाभन्दा बढी ग्यास रुसबाट आयात गथ्र्यो । तर युद्ध सुरु भएपछि रुसी ग्यास आपूर्ति घट्यो । त्यसपछि सेप्टेम्बर २०२२ मा बाल्टिक सागरमुनि भएका विस्फोटबाट नर्ड स्ट्रिम पाइपलाइनमा ठूलो क्षति पुगेको थियो ।
अहिले नर्ड स्ट्रिममाथि अमेरिका र युरोपेली संघका प्रतिबन्ध छन् । त्यसैले प्रतिबन्ध हटाइएन भने पाइपलाइन पुनः सञ्चालन गर्न कानुनी समस्या हुने छ ।
जर्मन खनिज तथा ऊर्जा मन्त्रालयले पनि रुसी ग्यास र नर्ड स्ट्रिममाथि युरोपेली प्रतिबन्ध रहेको र जर्मनीले वैकल्पिक ऊर्जा स्रोतको व्यवस्था गरिसकेको जनाएको छ । पाइपलाइन खोल्न सरकारको स्वीकृति आवश्यक पर्ने र हाल यस्तो कदमको पक्षमा सरकार नरहेको मन्त्रालयको भनाइ छ ।
युरोपमा बढ्न सक्छ राजनीतिक विवाद
रुससँग ऊर्जा सम्बन्ध पुनः जोड्ने प्रस्तावले युरोपमा राजनीतिक विवाद निम्त्याउन सक्ने देखिएको छ । युक्रेनलाई सैन्य सहयोग गरिरहेको जर्मनीमा रुससँग व्यापारिक सम्बन्ध पुनः स्थापित गर्ने विषयलाई लिएर मतभेद छ । जर्मन सांसद माइकल केल्नरले यस्तो सम्झौताले युरोपलाई ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् । उनका अनुसार अमेरिकी र रुसी पक्षले नाफा बाँड्नेछन् ।
जर्मनीको वर्तमान सरकार नर्ड स्ट्रिम पुनः सञ्चालनको विपक्षमा छ । तर देशको दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी (एडि) रुसी ग्यास पुनः ल्याउने पक्षमा छ । दिमित्रिएभले आगामी वर्ष एडि नेतृत्वसँग यस विषयमा छलफल गर्ने तयारी गरेको स्रोतहरूले बताएका छन् ।
पोल्यान्ड र बाल्टिक देशहरू पनि रुसी ऊर्जा सम्बन्ध पुनः स्थापित गर्ने विषयमा विरोधमा छन् । रुसमाथि सुरक्षा निर्भरता बढ्ने उनीहरूको चिन्ता छ ।
लुकओइलको सम्पत्ति पनि बेच्ने योजना
कुसनर र दिमित्रिएभबीच रुसी ऊर्जा कम्पनी लुकओइलको युरोप तथा अन्य क्षेत्रमा रहेको सम्पत्ति बिक्री गर्ने विषयमा समेत छलफल भइरहेको छ । योजनाअनुसार अमेरिकी डिएफसि, कतार र संयुक्त अरब इमिरेट्सका लगानीकर्ताको समूहले लुकओइलका रिफाइनरी, पेट्रोल पम्पलगायत सम्पत्ति खरिद गर्न सक्नेछ । त्यसका लागि अमेरिकी प्रतिबन्ध हटाउने विषयसमेत छलफलमा रहेको स्रोतहरूले बताएका छन् ।
नर्ड स्ट्रिमको स्वामित्व पनि ठूलो चुनौती हो । पाइपलाइन सञ्चालन गर्ने कम्पनीमा रुसी सरकारी ऊर्जा कम्पनी गाजप्रोमको ५१ प्रतिशत हिस्सा छ । बाँकी हिस्सामा जर्मनी, फ्रान्स र नेदरल्यान्ड्सका कम्पनीहरूको स्वामित्व छ ।
यसरी युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयाससँगै रुसको ऊर्जा व्यापारलाई युरोपमा फर्काउने सम्भावना पनि अमेरिकी–रुसी वार्ताको एउटा महत्वपूर्ण विषय बनेको छ । तर प्रतिबन्ध, जर्मनीको असहमति, युरोपको सुरक्षा चिन्ता र रुसप्रतिको अविश्वासका कारण यस्तो योजना तत्काल कार्यान्वयन हुने सम्भावना कम रहेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















