मोदीको २५ वर्षे सार्वजनिक जीवन: भन्छन्, ‘जनताको विश्वास नै मेरो शक्ति’

एजेन्सी

सारांश
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको मुख्यमन्त्रीदेखि सरकार प्रमुखको रूपमा सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेका छन्।
- नयाँदिल्लीमा आयोजित एक कार्यक्रममा उनले आफ्नो राजनीतिक यात्राको सफलताको श्रेय जनताको अपार विश्वास र आशीर्वादलाई दिएका छन्।
- मोदीले सन् २०४७ सम्ममा भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्यका साथ ‘हामी गरेर देखाउँछौँ’ भन्ने संकल्पकासाथ अघि बढ्न आह्वान गरेका छन्।
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेका छन् । सन् २००१ अक्टोबर ७ मा गुजरातको मुख्यमन्त्रीका रूपमा शपथ लिएका मोदीले बुधबार सरकार प्रमुखका रूपमा आफ्नो यात्राको २५ वर्ष पूरा गरेका हुन् ।
यस अवसरमा नयाँदिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा आयोजित कार्यक्रममा उनले देशभरका भारतीय जनता पार्टी (भाजपा) कार्यकर्तालाई भर्चुअल सम्बोधन गरे । सम्बोधनका क्रममा मोदीले आफ्नो राजनीतिक यात्रामा जनताबाट प्राप्त विश्वासलाई सबैभन्दा ठुलो शक्ति भएको बताए ।
मोदीले आफ्नो यात्राका उतारचढाव सम्झिँदै विरोधबाट लोकतन्त्रको शक्ति, सङ्कटबाट धैर्य र असफलताबाट पुनः उठ्ने प्रेरणा प्राप्त गरेको बताए । उनले विगत २५ वर्षको अनुभवलाई आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि देशको सम्पत्ति भएको उल्लेख गरे ।
- ‘म आज पनि आफूलाई विद्यार्थी मान्छु’
मोदीले आफ्नो सार्वजनिक जीवनका २५ वर्षलाई जनताको आशीर्वाद र विश्वासको परिणामका रूपमा व्याख्या गरे । उनले भारतीय जनता पार्टी, राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) तथा लोकतन्त्रमा विश्वास गर्ने सबैप्रति आभार व्यक्त गरे ।
उनले १४० करोड भारतीय नागरिकको सेवाका लागि आफूलाई थप ऊर्जा र सामर्थ्य प्राप्त होस् भन्दै प्रार्थना गरेको बताए । ‘जनता जनार्दन मेरा लागि ईश्वरकै स्वरूप हुन् । देशले मलाई धेरै दिएको छ, त्यसैले देश नै मेरा लागि सबैथोक हो,’ उनले भने ।
विद्यालय जीवनदेखि नै सिक्ने बानी बसेको बताउँदै उनले आफू अहिले पनि विद्यार्थी नै रहेको बताएका छन् । उनका अनुसार जीवनमा भएका प्रत्येक घटनाले केही न केही सिकाएको छ । असफलताले उठ्न सिकाएको, विरोधले लोकतन्त्र बुझ्न मद्दत गरेको र सङ्कटले धैर्यको परीक्षा लिएको उनको भनाइ थियो ।
चन्द्रयान अभियानबाट असफलतापछि पुनः प्रयास गर्ने शिक्षा मिलेको र कोरोना महामारीले सामूहिक चेतनाको महत्त्व बुझाएको उनले बताए । गाउँ र गरिब समुदायसँगको अनुभवले सीमित स्रोतसाधनका बाबजुद ठुला सपना देख्न र साहसका साथ अघि बढ्न प्रेरित गरेको पनि उनले उल्लेख गरे ।
- ‘हामी सेवक हौँ, सेवा नै हाम्रो धर्म हो’
आफूलाई महत्त्वाकाङ्क्षा पूरा गर्नभन्दा निश्चित लक्ष्य प्राप्त गर्न काम गर्ने व्यक्तिका रूपमा प्रस्तुत गर्दै मोदीले भने, ‘म महत्त्वाकाङ्क्षाका लागि होइन, मिसनका लागि बाँच्ने मानिस हुँ ।’
उनका अनुसार राजनीतिक जीवनको प्रारम्भिक चरणमा उनी संगठनको काममा सक्रिय थिए । चुनाव सञ्चालन गराउने जिम्मेवारी सम्हाले पनि आफूले लामो समयसम्म चुनाव नलडेको उनले स्मरण गरे । ‘मेरो जीवनको एउटै ध्येय देशका लागि निःस्वार्थ कर्म गर्नु थियो । कर्म नै मेरो धर्म हो,’ उनले भने । भगवद्गीताको सन्दर्भ दिँदै मोदीले परिणामको चिन्ता नगरी निरन्तर कर्म गर्नुपर्ने बताए ।
- ‘वी विल डु इट’ अभियानबाट कार्यकर्तामा उत्साह
सम्बोधनको प्रमुख सन्देशका रूपमा मोदीले ‘वी विल डु इट’ अर्थात् ‘हामी गरेर देखाउँछौँ’ भन्ने नारालाई अघि सारे । उनले विगतका उपलब्धिको चर्चा गर्नुभन्दा आगामी लक्ष्य प्राप्तिका लागि संकल्पलाई नयाँ ऊर्जा दिनु अहिलेको आवश्यकता भएको बताए । प्रधानमन्त्रीका अनुसार सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्यका लागि सामूहिक प्रयास आवश्यक छ ।
उनले विकसित भारत, विश्वको तेस्रो ठुलो अर्थतन्त्र, आत्मनिर्भर भारत, ओलम्पिक खेलकुद आयोजना र अन्तरिक्ष क्षेत्रमा थप उपलब्धि हासिल गर्ने लक्ष्य प्रस्तुत गर्दै कार्यकर्तालाई ‘वी विल डु इट’ भन्ने नारा लगाउन आग्रह गरे भने भारतलाई नयाँ उचाइमा पुर्याउन सरकार, राजनीतिक संगठन र नागरिकबीच साझा सङ्कल्प हुनुपर्ने बताए ।
- गुजरातदेखि प्रधानमन्त्रीसम्मको यात्रा
मोदीले सन् २००१ मा गुजरातको मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्दा प्रशासनिक व्यवस्थाबारे आफूलाई धेरै अनुभव नभएको बताए । त्यसबेला जनशक्तिमाथिको विश्वास नै उनको मुख्य आधार भएको उनको भनाइ थियो ।
जनतालाई साथ लिएर निर्णय गर्ने, नीति बनाउने र कार्यान्वयन गर्ने अभ्यासले गुजरातमा परिणाम दिएको उनले दाबी गरे । गुजरातमा प्राप्त अनुभवले सन् २०१४ मा प्रधानमन्त्री बनेपछि पनि काम गर्न सहयोग गरेको उनले बताए ।
सन् २०१४ मा भारतको अर्थतन्त्र र शासन व्यवस्थालाई लिएर निराशा व्याप्त रहेको दाबी गर्दै मोदीले त्यसबेला देशले नयाँ आशा खोजिरहेको बताए । जनतासँग मिलेर काम गर्ने र सामूहिक प्रयासमा विश्वास गर्ने आफ्नो शैलीले परिस्थितिमा परिवर्तन ल्याएको उनको दाबी थियो । उनले आफ्नो २५ वर्षको यात्राको मूल्याङ्कन आफू कहाँ पुगेँ भन्ने आधारमा नभई देश कहाँ पुग्यो भन्ने आधारमा गर्नुपर्ने बताएका छन् ।
- अर्थतन्त्र, कृषि र ऊर्जा क्षेत्रको चर्चा
मोदीले आफ्नो सम्बोधनमा भारतमा भएका आर्थिक तथा प्राविधिक परिवर्तनको पनि चर्चा गरे । उनले ‘मेड इन इन्डिया’ मोबाइल फोनको विस्तार, सौर्य ऊर्जाको विकास र कृषि उत्पादनमा भएको प्रगतिलाई उपलब्धिका रूपमा प्रस्तुत गरे ।
उनले सन् २०१५ देखि २०२५ सम्मको दशकमा भारतको कृषि वृद्धिदर स्वतन्त्रतापछिका दशकहरूमध्ये सबैभन्दा उच्च रहेको दाबी गरे । यस्ता उपलब्धिका लागि स्पष्ट नीति र सरकारको प्रतिबद्धता आवश्यक हुने उनको भनाइ थियो ।
सुशासनको आधारका रूपमा ‘सबका साथ, सबका विकास’ को अवधारणा प्रस्तुत गर्दै उनले समस्या सबै नागरिकको साझा हुने भएकाले समाधान पनि सबैलाई लक्षित गरेर खोज्नुपर्ने बताए । उनले भारतको ऐतिहासिक गौरवको चर्चा गर्दै विगतमा देशले विश्व अर्थतन्त्र र ज्ञानको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनका अनुसार देशको विकास र नागरिकको जीवनमा आउने सकारात्मक परिवर्तन नै सार्वजनिक जीवनको वास्तविक मूल्याङ्कनको आधार हुनुपर्छ ।

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट

हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान
अरुपनि पढ्नुहोस
सबै
बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ

दशै भेटघाटले आपसी सद्भाव, आत्मीयतालाई प्रगाढ बनायो

एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान

कंगोमा नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल थापाको नेतृत्वमा महिला शान्ति सैनिकको सक्रिय भूमिका
















