आठराई गाउँपालिकामा नगर बस सञ्चालन : सङ्क्रान्ति बजारबाट फिदिमसम्म सीधा सेवा सुरु

रासस

सारांश
- तेह्रथुमको आठराई गाउँपालिकाले सङ्क्रान्ति बजारदेखि पाँचथरको फिदिम्युटसम्म दैनिक नगर बस सञ्चालनमा ल्याएको छ।
- जेष्ठ नागरिक, बालबालिका र विद्यार्थीहरूका लागि निःशुल्क यात्राको व्यवस्था गरिएको छ भने अपाङ्गता भएका व्यक्तिहरूले भाडामा ५० प्रतिशत छुट पाउनेछन्।
- यस सेवाले नागरिकहरूको आवागमन सहज बनाउनुका साथै पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाले शनिबारदेखि नगर बस सञ्चालनमा ल्याएको छ । नगर बस सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८३ जारी गरी गाउँपालिकाले यो सेवा सुरु गरेको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताए ।
नगर बस खरिद तथा सञ्चालनका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा ६० लाख रुपैयाँ विनियोजन गरेको थियो ।
उक्त नगर बस आठराई गाउँपालिकाको केन्द्र सङ्क्रान्ति बजारदेखि छिमेकी जिल्ला पाँचथरको सदरमुकाम फिदिमसम्म दैनिक सञ्चालन हुने भएको छ । सङ्क्रान्तिदेखि फिदिमसम्मको दूरी करिब ३५ किलोमिटर रहेको छ । सो रुटका लागि भाडादर दुई सय रुपैयाँ निर्धारण गरिएको गाउँपालिकाका उपाध्यक्ष बलिराज इङ्नामले जानकारी दिए ।
नगर बसमा ७० वर्षमाथिका ज्येष्ठ नागरिक, पाँच वर्षमुनिका बालबालिका र विद्यालय पोसाक लगाएका वा विद्यार्थी परिचयपत्र बोकेका विद्यार्थीले निःशुल्क यात्रा गर्न पाउनेछन् । यस्तै अपाङ्गता भएका व्यक्तिहरूका लागि भाडादरमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको उपाध्यक्ष इङ्नामले बताए ।
नगर बस हरेक दिन बिहान ८:०० बजे सक्रान्ति बजारबाट फिदिमतर्फ छुट्नेछ । फिदिमबाट भने अपराह्न ३:०० बजे आठराईका लागि फर्किने गाउँपालिकाका प्रवक्ता एवम् वडा नं ६ का अध्यक्ष कृष्णप्रसाद बास्कोटाले जानकारी दिए ।
आठराई गाउँपालिकावासीको मुख्य व्यापारिक केन्द्र पाँचथरको फिदिम भएकाले उक्त रुटमा नगर बस सञ्चालन गरिएको हो । यसका लागि पाँचथरको फिदिम नगरपालिकासँग पनि साझेदारी गरिएको छ ।
नगर बस सञ्चालनमा आएपछि नागरिकको आवागमन सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ । यसबाट पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, व्यापार विस्तार र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन ठुलो सहयोग पुग्ने अध्यक्ष दिलकुमार पाहिमको भनाइ छ ।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















