बाढी पहिरोले म्याग्दीमा साढे पाँच सय घरपरिवार प्रभावित, सात जनाको मृत्यु

रासस

सारांश
- असोज ८ देखि ११ गतेसम्मको बाढीपहिराले म्याग्दीमा करिब पाँच सय ५० घरपरिवार प्रभावित हुनुका साथै सात जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन्।
- घटनामा एक सय ११ घर पूर्ण क्षति, ९३ घरमा आंशिक क्षति र तीन सय ४२ घर उच्च जोखिममा परेका छन् भने २० वटा पशुचौपाया मरेका छन्।
- सडक यातायात अवरुद्ध भएपछि प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी गरी वितरण गरिएको छ र विस्थापितहरूलाई अस्थायी शिविरमा राखिएको छ।
म्याग्दी । असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछि आएको बाढी पहिरोले म्याग्दीका करिब पाँच सय ५० घरपरिवार प्रभावित भएका छन् ।
पहिरोका कारण एक सय ११ घरमा पूर्ण क्षति भएको छ भने ९३ घरमा आंशिक क्षति पुगेको छ । यसैगरी तीन सय ४२ घर उच्च जोखिममा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार सबैभन्दा बढी क्षति अन्नपूर्ण गाउँपालिकामा भएको छ । त्यहाँ ४५ घर पूर्ण रूपमा भत्किएका छन् भने १२ घरमा आंशिक क्षति पुगेको छ । अन्नपूर्णका एक सय ८३ घर अझै जोखिममा रहेका छन् ।
बेनी नगरपालिकामा ३० घर पूर्ण, १४ घर आंशिक र ४५ घर जोखिममा परेका छन् । मंगला गाउँपालिकामा २३ घरमा पूर्ण, ३२ घरमा आंशिक क्षति र ३५ घर जोखिममा परेको सहायक प्रजिअ आचार्यले बताए । यसैगरी रघुगंगा गाउँपालिकामा छ घर पूर्ण, २७ घर आंशिक र ५३ घर जोखिममा परेका छन् ।
मालिका गाउँपालिकामा तीन घर पूर्ण, एक घर आंशिक र तीन घर जोखिममा परेका छन् । धवलागिरी गाउँपालिकामा चार घर पूर्ण, सात घर आंशिक र २३ घर जोखिममा रहेका छन् ।
बाढी पहिरोका कारण ५६ वटा गोठ भत्किएर तथा पुरिएर क्षति पुग्दा २० पशुचौपाया मरेका छन् । अन्नपूर्ण गाउँपालिकाको गिवाङ, पाउद्धार, किन्दु र घिरवाङका एक सय १५ जना पहिरो प्रभावितलाई उद्धार गरेर शिख र घारको अस्थायी शिविरमा राखिएको छ । सडक यातायात अवरुद्ध भएकाले विस्थापितहरूलाई बेनीबाट हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी गरेर उपलब्ध गराइएको छ ।
पहिरोमा परी अन्नपूर्ण गाउँपालिकामा पाँच र मालिका गाउँपालिकामा दुई गरी सात जनाको मृत्यु भएको छ । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा एक–एक जना बेपत्ता भएका छन् ।
पहिरोले सडक, खानेपानी, नदी नियन्त्रण, विद्यालय भवन, सार्वजनिक भवन, पदमार्ग, सिँचाइ, कृषि तथा पशुपंक्षी लगायतका क्षेत्रमा पुर्याएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । पूर्ण विवरण सङ्कलन भइसक्दा क्षतिको आँकडा अझै बढ्ने प्रशासनको भनाइ छ ।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















