समाचार

तीन संसदीय समितिको बैठक बस्दै

नवलपुर टुडे
२०८३ अशोज ५ | बिहान ०६:०६ बजे

काठमाडौं । सोमबार (असोज ५) संघीय संसद्अन्तर्गत तीनवटा संसदीय समितिको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।

बिहान ९:०० बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषिमन्त्री, नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशकलगायतलाई आमन्त्रण गरिएको छ ।

बैठकमा नार्कअन्तर्गतका क्षेत्रीय कार्यालय तथा अनुसन्धान केन्द्रहरूको स्थलगत अनुगमनबाट पहिचान भएका समस्या तथा चुनौती, प्राप्त निष्कर्ष एवं कृषि अनुसन्धान प्रणाली सुदृढीकरणका उपायबारे छलफल हुनेछ ।

त्यस्तै, पूर्वाधार विकास समितिको बैठक बिहान १०:०० बजे बस्दै छ । बैठकमा बाढी, पहिरो प्रभावित जिल्लाहरू (रसुवा, नुवाकोट, धादिङ) मा जनजीवन र पूर्वाधारमा परेको क्षति, पुनर्स्थापना तथा पुनर्निर्माणबारे छलफल हुनेछ ।

पुनर्निर्माणको लागि आवश्यक लगानी व्यवस्थापन तथा विविध विषयमा छलफल हुने जानकारी दिइएको छ । त्यस्तै कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १०:०० बजे बस्दै छ ।

बैठकमा रसुवास्थित भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन, प्रभावित नागरिकको मानव अधिकार संरक्षण तथा जलवायु न्याय तथा विविध विषयमा छलफल हुनेछ ।

कमेन्टहरु