दुर्घटना

गोरखामा जीप दुर्घटना : एकजनाको मृत्यु, सात घाइते

रासस
२०८३ अशोज ४ | मध्यान्ह ०३:०६ बजे

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२, थालाजुङमा आज बिहान भएको जीप दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा जीपले च्यापिएर थालाजुङ काउलेकी ८१ वर्षीया लालमाया गुरुङको मृत्यु भएको थालाजुङका वडाध्यक्ष खुसीमान गुरुङले जानकारी दिए ।

दुर्घटनामा सिरानचोक गाउँपालिका–७ का ६८ वर्षीय कमलबहादुर घिमिरे गम्भीर घाइते भएका छन् । सोही ठाउँका ४८ वर्षीया सीता पाण्डे, ४८ वर्षीय लोकबहादुर खड्का र ७३ वर्षीय कुलबहादुर सार्की घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी,  सिरानचोक–६ सिम्लेका ६८ वर्षीया सीता गुरुङ तथा वडा नं ७ डाँडागाउँकी २७ वर्षीया रोजिना नेपाली र उनकी दुई वर्षीया छोरी रेविका नेपाली घाइते भएका छन् ।

सबै घाइतेको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । जीप चालक विकास गुरुङ प्रहरी नियन्त्रणमा छन् ।

कमेन्टहरु