बारामा चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ


बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२, सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ ।
स्थानीय होटलमा दुई पक्षबीच भएको विवादका क्रममा चक्कु प्रहारबाट जीतपुर सिमरा उपमहानगरपालिका–२ का ३५ वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको हो ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्काको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।
गम्भीर घाइते खड्कालाई स्थानीयको सहयोगमा उपचारका लागि जितपुरसिमरा नगर अस्पताल पुर्याइएको थियो । त्यहाँ प्राथमिक उपचार गरी उनलाई थप उपचारका बयोधा अस्पतालमा पुर्याइएको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए ।
घटनापछि तनावग्रस्त बनेको स्थितिलाई नियन्त्रणमा लिँदै घटनामा संलग्न रहेका मुख्य आरोपित जितपुर सिमरा उपमहानगरपालिका–२ का २२ वर्षीय आयुष राईसहित तीनजनालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।
मृतकको शव अस्पतालमै रहेको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको उनले बताए ।






















