तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

नवलपुर टुडे

सारांश
- बङ्गालको खाडीमा उत्पन्न चक्रवातको प्रभावले झापामा बाढी र डुबानको जोखिम बढेकाले जिल्ला प्रशासन कार्यालयले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
- मौसम प्रतिकूल रहेकाले किसानलाई तत्काल धान नकाट्न र काटिसकेको धान सुरक्षित स्थानमा भण्डारण गर्न अनुरोध गरिएको छ।
- सम्भावित विपद्बाट बच्न लामो दूरीको यात्रा नगर्न, खोला किनारमा नजान तथा आधिकारिक सूचनामा मात्र विश्वास गर्न प्रशासनले जोड दिएको छ।

झापा । बङ्गालको खाडीमा उत्पन्न ‘अर्नव’ चक्रवातको प्रभावका कारण देशका अन्य भागसँगै झापामा पनि बाढी र डुबानको जोखिम बढेको छ। सम्भावित विपद्बाट जोगिन जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई आधार मान्दै प्रशासनले कात्तिक १२ देखि १४ गतेसम्म कोशी प्रदेशमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
यतिबेला झापाका किसान पाकेको धान भित्र्याउने चटारोमा छन्। तर, मौसमको प्रतिकूलतालाई मध्यनजर गर्दै प्रशासनले तत्काल धान नकाट्न र काटिसकेको धान सुरक्षित स्थानमा भण्डारण गर्न किसानलाई विशेष अनुरोध गरेको छ।
भारी वर्षाका कारण सडक तथा हवाई यातायातलगायत दैनिक जनजीवन प्रभावित हुनसक्ने प्रशासनले जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई लामो दूरीको यात्रा नगर्न र वर्षाका समयमा सवारीसाधन नचलाउन आग्रह गरिएको छ।
अकस्मात बाढी आउनसक्ने खहरे खोलाका आसपासमा यात्रा नगर्न, खोला किनारमा माछा मार्ने तथा दाउरा सङ्कलन गर्नेजस्ता कार्यबाट टाढा रहन सूचनामा उल्लेख छ।
भ्रामक सूचनाको पछि नलागी आधिकारिक निकायबाट जारी हुने मौसमसम्बन्धी पूर्वानुमानलाई मात्र विश्वास गर्न प्रशासनले जोड दिएको छ।
चक्रवातबाट सम्भावित क्षति न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिसँग बुधबार आकस्मिक बैठक सम्पन्न गरेको जनाएको छ।
“चक्रवातका कारण भारी वर्षा हुने पूर्वानुमान आइसकेको हुँदा धनजनको क्षति हुन नदिन हामीले आवश्यक सम्पूर्ण सतर्कता अपनाएका छौँ,” बैठकपछि जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भने, “स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई पूर्वतयारी अवस्थामा रहन निर्देशन दिइसकेका छौँ।”

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त



तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार
अरुपनि पढ्नुहोस
सबै
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन
















