भूमिहीन र सुकुम्बासीकाको काम तत्कालै सुचारु गर्ने – सरोकारवालाको प्रतिबद्धता

नवलपुर टुडे

सारांश
- पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा वितरण गर्ने कार्यको प्रगतिबारे सरोकारवालाहरूसँग छलफल भएको छ।
- छलफलमा सहभागी सांसद र स्थानीय तहका जनप्रतिनिधिहरूले दशकौँदेखि पुर्जाविहीन नागरिकलाई जग्गाको स्वामित्व दिन कुनै पनि ढिलासुस्ती गर्न नहुनेमा जोड दिएका छन्।
- सङ्घीय सरकार, स्थानीय तह र भूमि आयोगबीच आपसी समन्वय गरी बाँकी रहेका नापजाँच तथा लगत प्रमाणीकरणका कामलाई तीव्रता दिँदै छिट्टै लालपुर्जा वितरण गर्ने सहमति भएको छ।

नवलपरासी, कार्तिक १२ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई धनीपुर्जा (लालपुर्जा) वितरणका लागि भइरहेको कार्यप्रगतिको वस्तुस्थितिबारे सरोकारवालाहरूसँग छलफल भएको छ । वर्षौँदेखि पुर्जाविन नागरिकको समस्या समाधान गरी छिटोभन्दा छिटो लालपुर्जा वितरण प्रक्रिया अगाडि बढाउन भएको उक्त छलफलमा सहभागी सरोकारवालाहरूले सकारात्मक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
छलफलमा प्रतिनिधिसभा सदस्य विक्रम खनाल , बर्दघाट नगरपालिकाका नगर उपप्रमुख रुद्र प्रकाश उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम भुसाल, पूर्व नगरप्रमुख धीरज शर्मा बस्याल, नगर प्रवक्ता सन्तु गाहा र नगरपालिकाका भूमि शाखा प्रमुख ठाकुरमणि न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
छलफलमा बोल्दै प्रतिनिधिसभा सदस्य विक्रम खनालले वर्षौँदेखि लालपुर्जा नपाएर सास्ती भोगिरहेका नागरिकलाई जमिनको स्वामित्व दिलाउनु राज्यको दायित्व भएको बताउनुभयो । सांसद खनालले भन्नुभयो, “नागरिकहरू दशकौँदेखि पुर्जाविहीन भएर बस्नुपरेको दुःखद अवस्था छ । अब कुनै पनि बहानामा ढिलासुस्ती सह्य हुँदैन। सङ्घीय सरकार, आयोग र मन्त्रालयस्तरबाट गर्नुपर्ने जुनसुकै समन्वय र पहलका लागि म निरन्तर तयार छु । स्थानीय तह र प्राविधिक टोलीले नापजाँच र लगत प्रमाणीकरणका बाँकी कामहरू तीव्र गतिमा अघि बढाउनुपर्छ।”
बर्दघाट नगरपालिकाका नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले प्रक्रियागत अल्झनहरूलाई सुल्झाउँदै छिटो नतिजा दिन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत ऋषिराम भुसालले भूमि शाखाको प्रशासनिक र प्राविधिक काम बिना ढिलासुस्ती अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो।
छलफलमा बोल्दै पूर्व नगरप्रमुख धीरज शर्मा बस्यालले नागरिकको हकहितका लागि दलीय राजनीतिभन्दा माथि उठेर विगतदेखि थालिएका कामहरूलाई निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
यस्तै नगर प्रवक्ता सन्तु गाहाले स्थानीय स्तरमा देखिने सानातिना विवादहरूलाई संवादमार्फत समाधान गर्दै सहकार्यको वातावरण बनाउने बताउनुभयो भने भूमि शाखा प्रमुख ठाकुरमणि न्यौपानेले नापी, मालपोत र भूमिसम्बन्धी आयोगहरूसँग निरन्तर समन्वय गरी लगत सङ्कलनको कामलाई तीव्रता दिईएको जानकारी दिनुभयो ।
छलफलले लालपुर्जा वितरण सम्बन्धी कामलाई कुनै पनि बहानामा नरोक्ने र यथाशीघ्र तीव्र रूपमा अघि बढाउने मुख्य निष्कर्ष निकालेको छ। यसका लागि सङ्घीय सांसद, जनप्रतिनिधि, नगरपालिका र भूमि आयोग बीच निरन्तर समन्वय गर्दै तोकिएको समयसीमाभित्रै वास्तविक सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने सहमति भएको छ ।


तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ
















