खेलकुद

४६औँ चेस ओलम्पियाडमा नेपालको शानदार जित

नवलपुर टुडे
२०८३ अशोज ४ | बिहान ०६:०६ बजे

समरकन्द, उज्बेकिस्तान । उज्बेकिस्तानको समरकन्दमा जारी ४६औँ चेस ओलम्पियाडको चौथो चरणमा नेपालका दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण जित दर्ता गरेका छन्। नेपालको खुल्ला टोलीले टिमोर लेस्तेमाथि ४–० को शानदार जित हात पार्दा महिला टोलीले डोमिनिकन रिपब्लिकमाथि ३–१ को जित हासिल गरेको छ।

चौथो चरणमा दुवै नेपाली टोलीले एकैपटक उत्कृष्ट नतिजा निकाल्नु नेपाली बुद्धिचालका लागि उत्साहजनक उपलब्धि बनेको छ। जीत सँगै नेपाली पुरुष टोलीले चार चरणमा ४ अंक जोडेका छन्। पहिलो बोर्डमा सीएम पुरुषोत्तम सिलवालले हेल्डर डि अराउजोलाई पराजित गरे। दोस्रो बोर्डमा एफएम रुपेश जैसवालले पिन्टो एन्ड्राडेलाई हराए।

त्यसैगरी तेस्रो बोर्डमा सीएम सुश्रुत दाहालले पाउलो फर्नान्डेस डि कार्भालोलाई पराजित गरे भने चौथो बोर्डमा राजन सुबेदीले मारियो मेलो नासिमेन्टोलाई हराए।

महिला टोलीको ३–१ को महत्वपूर्ण जित
नेपालको महिला टोलीले डोमिनिकन रिपब्लिक विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ३–१ को जित हासिल गरेको छ। पहिलो बोर्डमा एन्जल महर्जनले पराजय व्यहोरे पनि बाँकी तीन बोर्डमा नेपाली खेलाडीले शानदार जित निकाले।

दोस्रो बोर्डमा कृतिसारा अधिकारीले डब्लूएफएम प्याट्रिसिया एभारिस्ता कास्टिलो पेनालाई पराजित गरिन्। तेस्रो बोर्डमा पूजा भण्डारीले डब्लूएफएम मेरी लोली गोन्जालेज पेगुएरोलाई हराइन्। चौथो बोर्डमा निहाना श्रेष्ठले पनि महत्वपूर्ण जित दर्ता गरिन्। विशेषगरी दोस्रो र तेस्रो बोर्डमा डब्लूएफएम उपाधि प्राप्त खेलाडीविरुद्ध प्राप्त दुई महत्वपूर्ण जितले नेपाल महिला टोलीको प्रदर्शनलाई थप उल्लेखनीय बनाएको छ।

नेपाल बुद्धिचाल महासंघले सञ्चालन गरेको बन्द प्रशिक्षण शिविर तथा तयारी कार्यक्रमको सकारात्मक प्रभाव प्रतियोगितामा देखिएको छ। टोलीले ४ अंक जोडेका छन्। खुल्ला टोलीको तयारीमा कजाकिस्तानका प्रशिक्षक आईएम किरिल कुदेरिनोभ तथा महिला टोली सिएम रिजेन्द्र राजभण्डारीको नेतृत्वमा गरिएको प्रशिक्षणले खेलाडीहरूलाई महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयार पार्न सहयोग पुगेको थियो।

नेपाल बुद्धिचाल महासंघले गतिरोधका बाबजुद आफ्नो समूहमा पदक प्राप्त गर्ने लक्ष्यका साथ पूर्ण तयारी गरेको थियो। खेलाडीहरुको आत्मविश्वास परिणाम सँगै मुर्तरुप दिदैछ। साथसाथै नेपाल बुद्धिचाल महासंघले अध्यक्ष हेराकाजी महर्जनलाई आगामी कार्यकालका लागि ३.२ जोनल प्रेसिडेन्ट बनाउन सदस्य प्रतिनिधिहरु सँग सहमत जुटाउने काम भईरहेको छ।

अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरम बहादुर लामाले आवश्यक प्रतिनिधिसँग अन्तिम चरणको वार्ता जारी राख्दै नेपालले नेतृत्व लिने वातावरण बनाएका छन्।

राजु ताम्राकार
प्रवक्ता
नेपाल बुद्धिचाल महासंघ

कमेन्टहरु