समयको मागअनुसार संविधानको संवर्द्धन गर्नु समयोचित हुन्छ : मन्त्रिपरिषद् पूर्वअध्यक्ष रेग्मी


काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु हाम्रो राष्ट्रिय लक्ष्य र संवैधानिक मार्गचित्र भएको बताएका छन्।
संविधान दिवस २०८३ का अवसरमा आज शुभकामना दिँदै उनले समयको मागअनुसार संविधानको सम्वद्र्धन गर्नु समयोचित हुने बताए । पूर्वअध्यक्ष रेग्मीले लामो सङ्घर्ष, विभिन्न समयका जनआन्दोलनको उपलब्धिस्वरूप संविधानसभाबाट २०७२ सालमा नेपाली जनताले आफ्नो संविधान आफैँ बनाउन सफल भएको स्मरण गरे ।
हालैको भोटेकोशी बाढीले ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै उनले हजारौँ मानिस बेपत्ता भएको घटनाले सबैलाई मर्माहत तुल्याएको बताए। “यसपटकको रसुवा बाढी अत्यधिक वर्षाको कारण नभई हिमपहिरोका कारण भएको र त्यसलाई जलवायु परिवर्तनको असर मानिन्छ”, पूर्वप्रधानन्यायाधीश रेग्मीले भने, “जोसँग जुध्ने र क्षति बेहोर्ने हामीसँगको क्षमताले पुग्दैन । त्यसैले हामीलाई जलवायु न्याय चाहिएको छ, क्षतिपूर्ति चाहिएको छ ।”
जलवायु न्यायका लागि नेपाललाई अन्तरराष्ट्रिय सहयोग अनिवार्य आवश्यकता बनेको उल्लेख गर्दै उनले यसका लागि संयुक्त राष्ट्रसङ्घले महत्वपूर्ण भूमिका खेलिदिनुपर्नेमा जोड दिए । उनले दीर्घकालीन रूपमा यस्ता विपत्तिको सामना गर्ने आफ्नै सामथ्र्य र क्षमता बढाउँदै जानुपर्नेमा पनि जोड दिए ।






















