प्रबास

पञ्जाबमा किसानको ‘रेल रोको’ आन्दोलन, ६ जिल्लाका रेलवे ट्र्याकमा धर्ना

एजेन्सी
२०८३ अशोज १ | मध्यान्ह ०६:०६ बजे

अमृतसर । भारतको पञ्जाबमा किसान मजदुर मोर्चाले विभिन्न माग राख्दै बिहीबार ‘रेल रोको’ आन्दोलन सुरु गरेको छ । आन्दोलनका क्रममा अमृतसर, गुरदासपुर, फिरोजपुर, मोगा, संगरूर र सुनामसहित ६ जिल्लामा किसानले रेलवे ट्र्याकमा धर्ना दिएका छन् ।

मोगाको महेश्वरी सन्धुआ गाउँमा किसानले रेलवे ट्र्याक अवरुद्ध गर्ने घोषणा गरेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । किसानलाई ट्र्याकसम्म पुग्न रोक्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच धक्कामुक्कीसमेत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

किसान मजदुर मोर्चाले पञ्जाब सरकारका मन्त्रीहरूको निवासबाहिर जारी धर्नालाई पनि निरन्तरता दिने जनाएको छ ।

मोर्चाका नेता सरवण सिंह पन्धेरका अनुसार करिब एक महिनाअघि मुख्यमन्त्रीलाई पत्र पठाएर किसानका मागबारे जानकारी गराइएको थियो । अगस्ट ३१ मा विभिन्न जिल्ला प्रशासन कार्यालयबाहिर पनि प्रदर्शन गरिएको थियो । तर सरकारले किसानसँग वार्ता नगरेपछि रेल रोको आन्दोलन गर्नुपरेको उनको भनाइ छ ।

किसानहरूको प्रमुख मागमा भारत–अमेरिका व्यापार सम्झौता, विद्युत् संशोधन ऐन र बीउ संशोधन ऐनबारे सरकारको स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने विषय छन् । यसैगरी शम्भु–खनौरी किसान आन्दोलनका क्रममा भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने माग पनि उनीहरूले राखेका छन् ।

किसान नेताहरूका अनुसार उक्त आन्दोलनका क्रममा करिब ३ करोड ७७ लाख भारतीय रुपैयाँको क्षति भएको थियो भने सयौँ किसान घाइते भएका थिए । मुंग, मकै र आलुसहित पाँच बालीका लागि न्यूनतम समर्थन मूल्यको कानुनी ग्यारेन्टी पनि उनीहरूको प्रमुख मागमध्ये एक हो ।

यसैबीच सुनाममा भारतीय किसान युनियन एकता आजादले पनि आन्दोलनलाई थप तीव्र बनाएको छ । मन्त्रीको निवासबाहिर तीन दिनसम्म धर्ना दिएपछि आन्दोलनको चौथो दिन बिहीबार किसानले जाखल–लुधियाना रेलवे ट्र्याकमा धर्ना दिएका हुन् ।

युनियनका प्रान्तीय अध्यक्ष जसविन्दर सिंह लोंगोवालले सरकार किसानका मागप्रति उदासीन रहेको आरोप लगाए । उनका अनुसार शान्तिपूर्ण प्रदर्शनबाट माग सम्बोधन नभएपछि आन्दोलन थप तीव्र पार्न बाध्य भएको हो ।

रेलवे ट्र्याकमा धर्नाका कारण रेल सेवामा असर पर्न सक्ने भएपछि रेलवे प्रशासन र स्थानीय प्रहरीले अवस्थाको निगरानी गरिरहेका छन् ।

कमेन्टहरु