महेन्द्रकुमार शाहलाई मूर्ति बनाउन भ्याइनभ्याइ


धनगढी । धनगढीका महेन्द्रकुमार शाहलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ छ । यस वर्ष असोज १ गते विश्वकर्मा पूजा पर्ने भएकाले उनलाई फुर्सदै नभएको हो।
झण्डै तीन दशकदेखि उनले मूर्तिकार पेसालाई अगाँल्दै आएका छन्। धनगढी उपमहानगरपालिका–२ का मूर्तिकार महेन्द्रकुमार शाह यतिबेला विश्वकर्मा बाबाको मूर्ति बनाउने तयारीमा छन्। विभिन्न आकारमा मूर्तिको तयारी गर्न उनलाई हिजोआज भ्याइनभ्याइ छ।
पूजाको लागि मूर्ति निर्माण गर्नेदेखि निर्माण गरिएका मूर्तिमा सिङ्गारपटार गर्ने, पेन्ट लगाउने, सजाउने, आकर्षक बनाउनेलगायतका कार्यमा व्यस्त हुने गरेको शाहले बताए। “विशेषगरी पूजाको दिन बजारमा कलकारखाना, उद्योग, औजार र उपकरणलगायतका काम हुने स्थानमा विश्वकर्माको मूर्ति राखेर पूजा गर्ने चलन छ”, उनले भने।
“सोही पूजालाई मध्यनजर गरेर मैले साउनको दोस्रो सातादेखि विश्वकर्मा बाबाको मूर्ति बनाउन सुरु गरेको हुँ, धेरै समय लगाएर काम सुरु गर्याे भने सोचेअनुसारको काम गर्न सकिन्छ र अझै धेरै मूर्ति निर्माण गर्न सकिन्छ ।”
मूर्तिकार शाहले विश्वकर्माको लागि १५ वटा मूर्ति निर्माण गरिसकेका छन्। प्रतिमूर्ति रु सात हजारदेखि रु १२ हजार सम्ममा बिक्री गर्ने शाहले बताए।
एउटा मूर्ति बनाउन झण्डै एक हप्ता लाग्ने गरेको छ । शाहले अक्सर विश्वकर्माको पूजा, छठ पर्व, बडादशैँलगायतका चाडपर्वका लागि विभिन्न देवीदेवताका मूर्ति बनाएर बिक्री गर्ने गरेका छन्।
मूर्ति निर्माणको लागि माटो, पराल, सुतली धागो, काठ, किला, कपास, बोरालगायतका सामग्री चाहिन्छ । शाहले लामो समयदेखि बालबच्चाको शिक्षादीक्षासँगै आठ जना परिवारको खर्च सोही पेसाबाट धान्दै आएका छन् ।
विश्वकर्माको पूजाआराधना गर्दै उत्सव मनाउने गरिएको यो पर्वको लागि धनगढी बजार आसपासका क्षेत्रमा आज चहलपहल बढेको दिव्या ग्रील उद्योगका सञ्चालक अनुज शर्माले बताए। विश्वकर्माको भोलिको पूजाका लागि विशेष तयारी भइरहेको उनले बताए।






















