विपद्मा स्वयंसेवकको अब्बल उदाहरण बने गणेश नेपाली


काठमाडौँ । विपद्का बेला स्वयंसेवकले कसरी सेवा गर्न सक्छन् भन्ने उदाहरण रसुवाको मैलुङका गणेश नेपाली बनेका छन् । भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको बाढीबाट जोगिएका नेपाली अहिले जोखिम मोलेर त्रिशूली नदीमाथि बनेको अस्थायी तुइनमा डोरी तान्ने काममा स्वयंसेवकका रूपमा खटिएका छन् ।
विदुर नगरपालिका–९ स्थित सिमुटार–कोलनी जोड्ने तुइनमा नेपाल रेडक्रसका स्वयंसेवकका रूपमा नेपालीले बाढी प्रभावित तथा अत्यावश्यक सामग्रीलाई तुइनमार्फत वारिपारि गर्न सहजीकरण गरिरहेका छन् ।
बाढीमा घाइते भएका दाजु काठमाडौँस्थित वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत रहे पनि भेट्न जान नपाएको नेपालीले बताए । बाढी प्रभावितको पीडा देखेपछि स्वयंसेवकका रूपमा सेवा गर्न आएको उनको भनाइ छ ।
‘बाढीमा परेर घाइते भएका दाजु काठमाडौँस्थित वीर अस्पतालको ट्रमामा उपचाररत छन् । भेट्न जान पनि पाएको छैन । बाढी प्रभावितको पीडा देखेर मनले मानेन । यहाँ आएर तुइन जडान गर्न स्वयंसेवक भएर सुरक्षाकर्मीलाई साथ र सहयोग गरेँ,’ उनले भने, ‘तुइन जडान भएपछि डोरी तान्ने काममा स्वयंसेवकका रूपमा खटिएको १२ दिन बितिसक्यो ।’
बाढीले सिमुटार–कोलनी पुल क्षणभरमै बगाएपछि कोलनीवासीलाई आवतजावतमा समस्या भएको थियो । सम्पर्क विच्छेद हुँदा बाढी प्रभावितको खोज तथा उद्धारमा समेत जटिलता आएको थियो । सुरुआती दिनमा हेलिकप्टरमार्फत उद्धार गर्नुपरेको थियो ।
बाढीअघि पुलमार्फत सात–आठ मिनेटमा पुग्न सकिने स्थानमा अहिले सात घण्टासम्म लाग्ने गरेको नेपालीले बताए ।
तुइन जडान भएपछि अहिले दैनिक पाँच सयसम्म मानिसलाई वारिपारि गराउनुपर्ने उनले बताए । बाढी प्रभावितसहित अन्यलाई वारिपारि गराउन टोकन प्रणाली लागू गरिएको छ ।
बिरामी, बाढीमा आफन्त गुमाएका, अतिप्रभावित, महिला, बालबालिका तथा अत्यावश्यक सामग्री लैजाने व्यक्तिलाई प्राथमिकता दिइएको छ ।
‘स्वयंसेवक भएर सेवा गर्न पाउँदा खुसी छु । बाढीको पीडा सम्झन चाहन्न,’ नेपालीले भने ।
नेपाल रेडक्रस संरक्षण विभागका प्रमुख दिव्यराज पौडेलले बाढी प्रभावित क्षेत्रमा रेडक्रसका स्वयंसेवक अहोरात्र खटिरहेको बताए । उनका अनुसार स्वयंसेवक नेपालीको सेवा उदाहरणीय छ ।






















