मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते


सर्लाही । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर सडकखण्डमा मधेस प्रदेश ०३–०३३ प ७८२४ नम्बरको मोटरसाइकलसँग विपरीत दिशाबाट आउँदै गरेको बिआर ३० एपी १२२४ नम्बरको भारतीय मोटरसाइकल मङ्गलबार साँझ ठोक्किएको थियो। दुर्घटनामा ७८२४ नम्बरको मोटरसाइकल चालक सर्लाहीको गोडैता नगरपालिका–६ का ३० वर्षीय सुमित यादव र १२२४ नम्बरको मोटरसाइकल चालक सर्लाहीकै कबिलासी–८ का २६ वर्षीय पप्पु पासवानको मृत्यु भएको छ।
यसैबीच सोही दुर्घटनामा परेर १२२४ नम्बरको मोटरसाइकलमा सवार सर्लाहीको कबिलासी नगरपालिका–८ का ३३ वर्षीय सुरेन्द्र पासवान र मलङ्गवा नगरपालिका–६ का १८ वर्षीय बब्लुकुमार पासवान गम्भीर घाइते भएका छन्। अनुहार, टाउको र खुट्टामा चोट लागेका उनीहरूलाई प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको छ।
तीव्र गतिका कारण दुवै मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीको अनुमान छ। प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।
- चट्याङ लागेर बालिकाको मृत्यु
यसैबीच सर्लाहीको बागमतीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। मङ्गलबार साँझ बागमती नगरपालिका–४ गोले टोलमा परेको चट्याङ लागेर सोही स्थानका ठाकुरसिंह मोक्तानकी १२ वर्षीया छोरी दीना मोक्तानको मृत्यु भएको हो। चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको हो।
सोही घटनामा हस्तबहादुर बम्जनकी ११ वर्षीया छोरी प्रितीमा बोम्जन र ४२ वर्षीय पोशाकबहादुर वाइबा गम्भीर घाइते भएका छन्। घाइते प्रतिमालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ। अर्का घाइते पोशाकबहादुरको बागमतीस्थित सभ्यता अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिएका छन्।






















