भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए


कैलाली । भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका छन् । प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रको अभिलेखअनुसार हालसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँमा कार्यरत सुदूरपश्चिमका १४३ जना सम्पर्कविहीन छन् भने एक जनाको मृत्यु भएको छ ।
गत भदौ १० को बाढीपछि सुदूरपश्चिमका विभिन्न जिल्लामा घर ठेगाना भएका तर प्रभावित क्षेत्रमा कार्यरत व्यक्तिहरू बाढीपछि सम्पर्कविहीन भएको भन्दै केन्द्रमा गुनासो आएका थिए । पछि ७१ जना सम्पर्कमा आएको जानकारी प्राप्त भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् शाखा प्रमुख जनक धामीले जानकारी दिए ।
बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूका परिवार तथा आफन्तले आपत्कालीन केन्द्रमा गुनासो दर्ता गराएका थिए । सम्पर्कविहीनहरूको अवस्था यकिन गर्न उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन आफन्तहरुले केन्द्रमार्फत आग्रह गरिरहेका छन् ।






















