स्वास्थ्य सूचक मूल्याङ्कन: रामग्राम नगरपालिका जिल्लाकै उत्कृष्ट पालिका घोषित


नवलपरासी, भदौ २६ । स्वास्थ्य सूचकहरूको आधारमा गरिएको मूल्याङ्कनमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तह बन्न सफल भएको छ । स्वास्थ्य कार्यालय का प्रमुख अङ्गदबहादुर शाही अनुसार जिल्लाका सातवटै स्थानीय तहका स्वास्थ्य शाखाको कार्यसम्पादन मूल्याङ्कन गर्दा रामग्रामले पहिलो स्थान हासिल गरेको हो।
स्वास्थ्य कार्यालयले २९ वटा विभिन्न स्वास्थ्य सूचकलाई आधार बनाएर गरेको मूल्याङ्कनमा रामग्राम नगरपालिकाले ७८.५३ अङ्क प्राप्त गर्दै प्रथम स्थान ओगटेको छ । त्यसैगरी, ७७.८९ अङ्कसहित सरावल गाउँपालिका दोस्रो र ७६.९७ अङ्कसहित प्रतापपुर गाउँपालिका तेस्रो स्थानमा पर्न सफल भएका छन्।
मूल्याङ्कनका अन्य चरणहरूमा ७४.४९ अङ्क सहित बर्दघाट नगरपालिका चौथो, ७४.४० अङ्क सहित सुस्ता गाउँपालिका पाँचौँ, ७२.६२ अङ्क सहित सुनवल नगरपालिका छैठौँ र ७१.३३ अङ्क सहित पाल्हीनन्दन गाउँपालिका सातौँ स्थानमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
आर्थिक वर्ष २०८२/०८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्थातर्फ नगरपालिका क्षेत्रबाट बर्दघाट नगरपालिका–९ स्थित पञ्चनगर स्वास्थ्य चौकी छनोट भएको छ। त्यस्तै, गाउँपालिकाहरूको तर्फबाट प्रतापपुर गाउँपालिका–७ स्थित गुठी सूर्यपुरा स्वास्थ्य चौकी उत्कृष्ट घोषित भएको छ।






















