बाढीपीडितको सहयोगमा नेवा: पुच: यूएई, दोस्रो चरणमा रु. ५१ हजारभन्दा बढी राहत हस्तान्तरण


प्रवास दुवई, यूएई|
नेपालकाे भोटेकोसी तथा रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाली परिवारको राहत तथा पुनःस्थापनाका लागि नेवा: पुच: यूएईले सञ्चालन गर्दै आएको सहयोग अभियानलाई निरन्तरता दिएको छ।
अभियानअन्तर्गत दोस्रो चरणमा रु. ५१ हजार १११ राहत सहयोग हस्तान्तरण गरिएको छ। नेवार समुदायको छाता संगठन नेवा: देय् दबु केन्द्रीय कार्यालय, काठमाडौंमार्फत सम्बन्धित पीडित तथा सरोकारवाला निकायसम्म सहयोग पुर्याउने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको हो। राहत रकम “नेवा: देय् दबुका केन्द्रीय” अध्यक्ष रश्मिला प्रजापतिलाई नेवा: पुच: यूएईका प्रमुख संरक्षक प्रमोद श्रेष्ठ, उपाध्यक्ष सुनिलमान श्रेष्ठ तथा सदस्य रजिना जोशी श्रेष्ठको उपस्थितिमा हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।
नेवा: पुच: यूएईका महासचिव कुमार बलामीले नवलपुर टुडेलाई जानकारी दिँदै बाढीबाट प्रभावित नेपालीहरूको पीडामा संस्थाले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उद्देश्यले राहत अभियानलाई निरन्तरता दिएको बताउनुभयो। यसअघि अभियानको पहिलो चरणमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूएईमार्फत १,२२५ दिराम, अर्थात् करिब रु. ५० हजार बराबरको राहत सहयोग हस्तान्तरण गरिएको थियो।
महासचिव बलामीका अनुसार राहत अभियान यतिमै सीमित रहने छैन। आगामी दिनमा तेस्रो चरणअन्तर्गत पनि विश्वसनीय तथा सम्बन्धित निकायमार्फत थप राहत सहयोग उपलब्ध गराउने तयारी भइरहेको छ। त्यसका लागि सहयोग संकलन अभियानलाई संस्थागत रूपमा निरन्तरता दिइने उहाँले बताउनुभयो।

विपद्को समयमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था तथा सहयोगी मनहरूप्रति नेवा: पुच: यूएईले आभार व्यक्त गरेको छ। संस्थाले पीडितहरूको राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सक्रिय निकायहरूसँग आगामी दिनमा पनि समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।






















