समाज

होल्डिङ सेन्टरमा बसेकाको अस्थायी बसोबासका लागि सर्वेक्षण सुरु

रासस
२०८३ भदौ २४ | मध्यान्ह ०३:०५ बजे

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित भइ अहिले विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेकाहरूलाई उनीहरूको इच्छाबमोजिम अस्थायी बसोबासको व्यवस्थाका लागि सरकारले सर्वेक्षण सुरु गरेको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना धादिङका प्रमुख इन्जिनियर ससिन्द्र घिमिरेका अनुसार, आपतकालीन अवस्थामा बाढी प्रभावितका लागि होल्डिङ सेन्टर सञ्चालन गरिएको थियो ।

“अब केही हप्ताभित्रै प्रत्येक परिवारलाई छुट्टाछुट्टै अस्थायी बसोबास व्यवस्था गर्न सर्वेक्षण सुरु भइसकेको छ,” उनले भने, “पूर्वाधार विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागले गत मंगलबारदेखि प्रभावित जिल्लाहरूमा टोली खटाएर ‘कोबो टुलबक्स’ प्रयोग गरी आवश्यकता मुल्यांकन फारम’ मार्फत सर्वेक्षण गरिरहेको छ ।”

यसबाट प्रभावित व्यक्ति तथा परिवारहरूको विवरणका साथै घरको क्षतिको अवस्था (पूर्ण वा आंशिक), परिवारका दिवंगत वा बेपत्ता सदस्यको संख्या, सरकारी सहयोगमा अस्थायी आश्रय वा भाडामा बस्ने, उनीहरूको रुचि, जग्गाको उपलब्धता, स्थानान्तरणको उत्तम विकल्प, खानेपानी, सरसफाइको प्रबन्ध र अन्य थप आवश्यकताहरूबारे जानकारी तत्काल प्राप्त हुने उनको भनाइ छ ।

हाललाई यस सर्वेक्षणले होल्डिङ सेन्टरमा रहेका प्रत्येक घरपरिवारको आवश्यकता पहिचान गर्दै सरकारलाई आफ्नो योजना कार्यान्वयन गर्न सहयोग गर्नेछ ।

“एक हप्ताभित्र सर्वेक्षण सम्पन्न गर्ने गरी काम भइरहेको छ । त्यस लगत्तै होल्डिङ सेन्टरभन्दा बाहिर रहनुभएका प्रभावित परिवारहरूको पनि यही फारम प्रयोग गरी सर्वेक्षण गरिनेछ”, उनले भने ।

कमेन्टहरु