हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक


काठमाडाैँ । दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुजको जलघाँटीमा अमेरिकी सुरक्षा प्रयासमा योगदान गर्ने विकल्पबारे विचार गरिरहेको राष्ट्रपति कार्यालयले शुक्रबार जनाएको छ । यद्यपि, यसबारे कुनै निर्णय भइनसकेको कार्यालयले स्पष्ट पारेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको युद्धमा सहयोग गर्न दक्षिण कोरियामाथि पटकपटक दबाब दिँदै आएका छन् । सियोलले यसअघि हर्मुज सुरक्षाका लागि सैन्य सहयोग गर्ने अमेरिकी आग्रह अस्वीकार गर्दै आएको थियो ।
स्थानीय प्रसारक जेटीबीसीले दक्षिण कोरियाले हर्मुजमा सेना पठाउने विषयमा विचार गरिरहेको र त्यसका लागि संसद्को स्वीकृति लिनुअघि विवरणको समीक्षा गर्ने तयारी गरेको समाचार प्रसारण गरेको थियो ।
अमेरिका र इजरायलले करिब ६ महिनाअघि इरानविरुद्ध युद्ध सुरु गरेपछि राष्ट्रपति ट्रम्पले सहयोगी मुलुकबाट सैन्य तथा सुरक्षा सहयोग जुटाउन प्रयास गरिरहेका छन् । इरानले रणनीतिक महत्त्वको हर्मुज जलघाँटीमाथि नियन्त्रण कायम राखेको छ भने वासिङ्टनले इरानी बन्दरगाहमाथिको नाकाबन्दी कडा बनाउँदै आएको छ ।






















