स्ट्रेट अफ होर्मुजमा रहेका सबै बारुदी सुरुङ हटाइएको ट्रम्पको दाबी


वाशिङ्गटन डीसी । स्ट्रेट अफ होर्मुजमा रहेका सबै बारुदी सुरुङ अमेरिकी नौसेनाले हटाएको वा निष्क्रिय बनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् ।
पश्चिम एशियामा जारी युद्धका कारण इरानले लामो समयदेखि यो सामुद्रिक मार्ग लगभग बन्द अवस्थामा राखेको छ । ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमार्फत नयाँ बारुदी सुरुङ राख्ने प्रयास गर्ने कुनै पनि जहाज वा डुंगालाई तत्काल र योजनाबद्ध रूपमा नष्ट गरिने चेतावनी दिएका छन् ।
अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि हवाई आक्रमण सुरु गरेपछि युद्ध चर्किएको थियो । त्यसयता इरानले इजरायलका साथै यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडा र खाडी क्षेत्रका अमेरिकी सहयोगी राष्ट्रमाथि पनि आक्रमण गर्दै आएको छ । युद्ध अन्त्य गर्न वार्ताको वातावरण बनाउन गरिएको युद्धविराम पनि असफल भइसकेको छ । पछिल्ला दिनमा अमेरिका र इरानबिच बेलाबेलामा सैन्य झडप पनि भइरहेका छन् ।
यसैबिच अमेरिकाले इरानमाथि नयाँ आर्थिक प्रतिबन्धको घोषणा गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानसँग आर्थिक कारोबार गर्ने कुनै पनि देशलाई अन्तर्राष्ट्रिय रूपमा अलग पार्ने चेतावनी दिएका छन् । अमेरिका र इरानबिच जुन महिनामा स्ट्रेट अफ होर्मुजको विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो। १४ बुँदे उक्त समझदारीमा होर्मुजको विषयमा सहमति खोज्न ६० दिनको समयसीमा तोकिएको थियो । साथै इरानको आणविक कार्यक्रमबारे पनि वार्तामार्फत समाधान खोज्ने प्रयास गरिएको थियो ।
तर तोकिएको समयसीमा सकिएपछि वार्ता अघि बढ्न सकेन । त्यसपछि अमेरिकाले नयाँ प्रतिबन्ध घोषणा गरेको हो । यी प्रतिबन्धले इरानको शासन व्यवस्था नै कमजोर हुने दाबी ट्रम्पले गर्दै आएका छन् । सन् १९७९ मा इस्लामिक गणतन्त्र स्थापना भएयता इरान लामो समयदेखि अमेरिकी प्रतिबन्धको सामना गर्दै आएको छ । इरानका अर्थमन्त्री अली मदानिजादेहले भने नयाँ प्रतिबन्धका लागि आफ्नो देश पूर्ण रूपमा तयार रहेको बताएका छन् । उनका अनुसार प्रतिबन्धले अमेरिकालाई नै अर्को हारतर्फ धकेल्नेछ ।
युद्ध र अमेरिकी नाकाबन्दीका कारण इरानको अर्थतन्त्रमा भने ठुलो दबाब परेको छ । अमेरिकाले केही सातादेखि इरानी बन्दरगाहमार्फत हुने व्यापार रोक्ने प्रयास गर्दै आएको छ । इरानी तेलको सबैभन्दा ठुलो खरिदकर्ता चीनले अमेरिकी नयाँ प्रतिबन्धको विरोध गरेको छ । चीनले अमेरिकाको एकतर्फी प्रतिबन्धलाई गैरकानुनी भन्दै आफ्नो अधिकार र हित जोगाउन आवश्यक सबै कदम चाल्ने बताएको छ । अमेरिका र चीनबिचको सम्बन्धका दृष्टिले पनि पछिल्लो घटनाक्रम महत्वपूर्ण मानिएको छ । ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच अर्को महिना वार्ता हुने तयारी भइरहेका बेला वासिङ्टनले इरानमाथि नयाँ दबाब बढाएको हो ।
अर्कोतर्फ, इरानले स्ट्रेट अफ होर्मुजमा आफ्नो पूर्ण नियन्त्रण कायम गर्न चाहेको संकेत दिँदै आएको छ । अमेरिका र अन्य धेरै देश भने यो क्षेत्र अन्तर्राष्ट्रिय जलक्षेत्र भएकाले त्यहाँबाट जहाजको आवतजावत निर्बाध हुनुपर्ने पक्षमा छन् । होर्मुजको व्यवस्थापनका लागि इरान र अमेरिकाको सहयोगी राष्ट्र ओमानबिच पनि केही समयदेखि वार्ता भइरहेको थियो । तर अहिलेसम्म त्यसबाट ठोस सहमति जुट्न सकेको छैन ।
ओमानका विदेशमन्त्री बद्र अल–बुसैदीले मंगलबार इरानी समकक्षी अब्बास अराघ्चीसँग तेहरानमा भेट गरेपछि होर्मुजमा अस्थायी सामुद्रिक मार्ग खोल्ने विषयमा छिट्टै घोषणा हुन सक्ने आशा व्यक्त गरेका छन् । सुरक्षित जलयात्रा पुनः सुरु गर्न व्यावहारिक व्यवस्था आवश्यक रहेको बताउँदै उनलेस्थायी समाधान र स्ट्रेटको भविष्यको व्यवस्थापनबारे निर्णय पछि गरिने बताएका छन् ।
अराघ्चीले पनि पाकिस्तान र ओमानका प्रतिनिधिसँग भएको छलफलमा क्षेत्रीय समाधान खोज्ने विषयमा कुराकानी भएको बताएका छन् । उनका अनुसार होर्मुजको भविष्यको व्यवस्थापन, नयाँ सामुद्रिक मार्गको संरचना र बारुदी सुरुङ हटाउने संयुक्त अभियानबारे समेत छलफल भएको छ ।






















