अहिलेसम्मकै घातक बन्दैछ इबोला महामारी


किन्शासा । अफ्रिकाको प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो)मा फैलिएको इबोलाको प्रकोप अहिलेसम्मकै सबैभन्दा घातक इबोला प्रकोप बन्ने बाटोमा छ । यस अघि सन् २०१४–२०१६ को इबोला प्रकोप सबैभन्दा घातक थियो ।
तर पछिल्लो पटक इबोलाका कारण मृत्यु हुनेको संख्या बढ्दै गइरहेको अनि अहिलेकै दरमा बढिरहेमा यो छिटै नै अहिलेसम्मकै घातक बन्ने क्रममा रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक टेड्रोस अधानोम गेहब्रेयससले चेतावनी दिएका हुन् ।
सन् २०२६ को यो प्रकोप औपचारिक रूपमा मे १५ मा घोषणा गरिएको थियो । हालसम्म कम्तीमा ४ हजार ३०० लाई इबोलाको संक्रमण भएको छ भने २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । औपचारिक घोषणा हुनुभन्दा कम्तीमा तीन महिनाअघि अर्थात् फेब्रुअरीदेखि फैलिन यो रोग सुरु भएको हुन सक्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
यो प्रकोप दुर्लभ बन्डिबुग्यो प्रजातिको इबोला भाइरसका कारण भएको हो । यस प्रजातिले यसअघि सन् २००७ र २०१२ मा दुईवटा प्रमुख प्रकोप निम्त्याएको थियो । यसको उपचारका लागि हालसम्म कुनै खोप वा प्रमाणित औषधिले स्वीकृति पाएको छैन ।
यसैबीच पूर्वी डीआर कङ्गोमा जारी क्षेत्रीय अस्थिरताका कारण संक्रमितमध्ये करिब ३० प्रतिशत जति स्वास्थ्यकर्मीहरू छन् । आगामी तीन महिनाभित्र भाइरसको संक्रमण नियन्त्रणमा ल्याउने लक्ष्य डब्ल्युएचओले राखेको छ । इबोला दूर्लभ तर घातक भाइरल रोग हो ।
संक्रमित व्यक्तिको रगत, बान्ता लगायतका संक्रमित शारीरिक तरल पदार्थको सम्पर्कबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा यो सर्न सक्छ । यसको लक्षणमा ज्वरो, टाउको दुख्ने, थकान, बान्ता र झाडापखाला लगायतका समस्या देखिन सक्छन् ।
बेलायतको औषधि नियामकले बन्डिबुग्यो इबोलाविरुद्धको खोपको मानव परीक्षण सुरु गर्न अनुमति दिएको छ । अक्सफोर्ड विश्वविद्यालयको टोलीले अक्सफोर्ड–एस्ट्राजेनेका कोभिड–१९ खोपमा प्रयोग भएको प्रविधिमा आधारित रहेर उक्त खोप विकास गरिरहेको छ । साथै, डीआर कङ्गोमा दुईवटा विद्यमान एन्टिभाइरल औषधिले बिरामीको बाँच्ने सम्भावना बढाउँछन् कि बढाउँदैनन् भन्नेबारे छुट्टै परीक्षण पनि भइरहेको छ ।






















