कृषि, सुदुरपश्चिम प्रदेश

मलको माग उच्च, आपूर्ति न्यून

रासस
२०८३ साउन २७ | बिहान १०:०४ बजे

सुदूरपश्चिम । धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडले यही साउन १ देखि २६ गतेसम्म एक हजार २८७.७ मेट्रिक टन युरिया र २९५.७ मेट्रिक टन डीएपी बिक्री गरेको छ । यस अवधिमा पोटास ३३.२५ मेट्रिक टन बिक्री भएको छ ।

प्रादेशिक कार्यालयका प्रबन्धक नवलसिंह बोगटीले धानखेतीका लागि आवश्यक पर्ने मल किसानसम्म पुर्‍याउने क्रममा कम्पनीले उक्त परिमाणमा मल बिक्री गरेको बताए । धानखेतीको मुख्य समयमा मलको माग बढ्ने भएकाले कम्पनीले सहकारी तथा कृषि सामग्रीको बिक्री केन्द्रमार्फत किसानसम्म पुर्‍याउँदै आएको उनले जानकारी दिए ।

उपलब्ध मल बिक्री भइरहे पनि मागको तुलनामा आपूर्ति भने अझै बढाउनुपर्ने अवस्था रहेको छ । धनगढीका लागि युरिया एक हजार ९४७.७०५ र डीएपी एक हजार ९१५.८१५ मेट्रिक टन आवश्यक कोटा रहेको प्रबन्धक बोगटीले जानकारी दिए ।

हालको बिक्रीपछि कम्पनीमा युरिया ११०.२५०, डीएपी ३१ र पोटास ९३.६५० मेट्रिक टन मौज्दात रहेको छ । मंगलबारसम्म बिक्री र मौज्दात जोड्दा युरिया एक हजार ३९७.९५५ तथा डीएपी ३२६.७ मेट्रिक टन पुगेको छ । आवश्यक कोटासँग तुलना गर्दा बिक्री तथा मौज्दातमा रहेको मल युरियातर्फ करिब ७२ प्रतिशत र डीएपीतर्फ करिब १७ प्रतिशतमात्रै पुग्छ । यसमध्ये डीएपीको आपूर्ति अन्तर तुलनात्मक रूपमा बढी देखिएको छ ।

कम्पनीको विवरणअनुसार आवश्यक कोटाको तुलनामा युरियामा ५४९.७५५ र डीएपीमा एक हजार ५८९.११५ मेट्रिक टन कमी देखिएको छ । धानखेतीका लागि मलको माग बढेको समयमा डीएपीको आपूर्ति कमजोर हुँदा किसानले मलका लागि समस्या भोग्नु परिरहेको छ ।

कमेन्टहरु