समाज

उच्चस्तरीय न्यायिक आयोग गठन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारसँग सिंहको जोडदार माग

नवलपुर टुडे
२०८३ साउन १६ | बिहान ०९:०४ बजे

जनकपुरधाम, साउन १६। नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा पूर्वमन्त्री वीरेन्द्र प्रसाद सिंहले सुनसरीको कप्तानगञ्ज र सिरहाको गोलबजारमा हालै भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गरी निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन गर्न नेपाल सरकारसँग जोडदार माग गर्नुभएको छ।

उहाँले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। साथै, घटनामा घाइते भएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा कुनै पनि कमी हुन नदिन सरकारसँग आग्रह गर्नुभएको छ।

सिंहले लोकतान्त्रिक मुलुकमा नागरिकको जीवन, सुरक्षा र मानवअधिकारको रक्षा राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै घटनामा संलग्न जो–कोही व्यक्ति वा पक्ष भए पनि निष्पक्ष अनुसन्धान गरी कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने बताउनुभयो। निर्दोष नागरिकले अन्याय भोग्न नपरोस् र दोषीले उन्मुक्ति नपाओस् भन्ने सुनिश्चित गर्न सरकारले निष्पक्ष छानबिन गर्नुपर्ने उहाँको भनाइ छ।

उहाँले पछिल्ला घटनालाई लिएर धार्मिक, सामाजिक वा साम्प्रदायिक विद्वेष फैलाउने कुनै पनि गतिविधि राष्ट्र र समाजका लागि घातक हुने उल्लेख गर्दै सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकलाई संयमता अपनाउन आग्रह गर्नुभएको छ। अफवाह, भ्रामक सूचना र उत्तेजनात्मक अभिव्यक्तिबाट टाढा रही सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, आपसी भाइचारा तथा राष्ट्रिय एकता कायम राख्न उहाँले सबैमा हार्दिक अपिल गर्नुभएको छ।

साथै, सरकारले शान्ति सुरक्षा प्रभावकारी बनाउँदै पीडित परिवारलाई न्याय, घाइतेलाई गुणस्तरीय उपचार तथा दोषीलाई कानुनबमोजिम कारबाही सुनिश्चित गर्न ढिलाइ नगर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।

उक्त जानकारी नेपाली कांग्रेस निकट सूचना तथा सञ्चार विभाग, मधेश प्रदेशका सचिव तथा वीरेन्द्र प्रसाद सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले दिएका हुन्।

कमेन्टहरु